• १३ असोज २०८१, आइतबार

कांग्रेस नेता निधि र जनमत पार्टीका अध्यक्ष राउतबीच भेट

blog

काठमाडौं, १४ मङ्सिर ।  नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटवार्ता भएको छ।

सप्तरीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित राउत र कांग्रेस नेता निधिबीच निधि निवास नयाँबानेश्वरमा बुधबार भेटघाट भएको हो। निधिले निर्वाचनमा विजयी राउतलाई बधा दिनुभएको छ। 

भेटमा निधि र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको छ। भेटमा हालै सम्पन्न निर्वाचन र नयाँ सरकार गठन लगायतका विषयमा पनि कुराकानी भएको छ। 

निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।

भेटमा निधिले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गर्नुभएको  छ। निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले सङ्घ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिनुभएको छ। 

सप्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर  मतान्तरले हराउँदै राउत प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ। प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएर चार सिट सुरक्षित गरेको छ।