• १३ असोज २०८१, आइतबार

दोलखाका १० केन्द्रमा कडा सुरक्षाबीच बिहीबार मतदान हुने

blog

सुजन काफ्ले

चरीकोट, मङ्सिर १४ गते । दोलखामा भोलि बिहीबार प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि पुनः मतदान  हुँदैछ । बिहान ७ बजेदेखि  बेलुकी ५ बजेसम्म हुने निर्वाचनको सुरक्षा व्यवस्था कडा पारिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार शान्तिपूर्ण रूपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था कडा पारिएकाले मतदाताले ढुक्कसँग मतदान गर्न सक्ने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् ।” मतदाता, मतदान स्थल र केन्द्रमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना बाक्लो रूपमा परिचालन गरिने उहाँको भनाइ छ ।  मतदानका लागि प्रत्येक मतदान केन्द्रमा आठ जना रहने गरी ८० जना कर्मचारी रहने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।

मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो । सोहीअनुसार १० वटा मतदान केन्द्रमा पुनः मतदान हुँदैछ ।

मतदाता परिचयपत्र नभएका मतदाताका लागि नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, लालपुर्जा वा नेपाल सरकारबाट जारी भएका परिचयपत्रका आधारमा समेत मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ । 

जिल्लाको वैतेश्वर गाउँपालिका –२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका –३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’ मा पुनः मतदान हुँदैछ । त्यसैगरी सोही गाउँपालिका –६ मा वैतेश्वर मावि मतदान केन्द्रको ‘क’, ‘ख’ र ‘ग’ र तामाकोसी गाउँपालिका –३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्र ‘क’ र ‘ख’ मा पुनः मतदान हुँदैछ ।