• ११ जेठ २०८१, शुक्रबार

अर्जेन्टिनालाई बाहिरिने डर

blog

दोहा, मङ्सिर १४ गते । कतार विश्वकपमा सुरुका दुई खेलपछि नै विश्वका दुई सर्वश्रेष्ठ फुटबलरले सफलता र असफलता देखिसकेका छन्। 

पोल्यान्डका कप्तान रोवर्ट लेवान्डोस्कीले मेक्सिकोविरुद्धको खेलमा पेनाल्टीमा गोल गर्न असफल हुनुभएको थियो। यद्यपि त्यसपछि पोल्यान्डले साउदी अरबलाई २–० ले हराएको खेलमा लेवान्डोस्कीले विशेष प्रदर्शन गर्नुभयो। उहाँले एक गोल गर्नुका साथै अर्को गोलका लागि एसिस्ट गरेपछि पोल्यान्डको नकआउटमा पुग्ने सम्भावना कायम रहेको छ। हाल विश्वका सर्वश्रेष्ठ स्ट्राइकरमध्ये एक लेवान्डोस्कीले विश्वकपमा पहिलो पटक गोल गर्नुभएको हो। विश्वकपमा लेवान्डोस्की यसअघिका चार खेलमा गोलविहीन हुनुहुन्थ्यो।

अर्जेन्टिनाका लियोनेल मेसीले भने सुरुका दुवै खेलमा गोल गर्नुभएको छ। यद्यपि साउदी अरबविरुद्ध अर्जेन्टिना पराजित भएको थियो। जसलाई विश्वकपको सर्वाधिक स्तब्धकारी हारमध्ये एक मानिएको छ तर मेसीले पनि मेक्सिकोविरुद्ध शानदार पुनरागमन गर्नुभयो। मेक्सिकोविरुद्ध २–० को जितमा मेसीले पनि एक गोल गर्नुका साथै अर्कोमा सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो।

अब समूह ‘सी’बाट अगाडि बढ्ने लक्ष्यसहित यी सम्भवतः अन्तिम विश्वकप खेलिरहेका यी दुई सुपरस्टार बुधबार एकअर्काविरुद्ध भिड्नेछन्। दुवै टिमलाई जितले अगाडि बढाउनेछ। यद्यपि सो खेलमा अर्जेन्टिनाभन्दा पोल्यान्ड हल्का फाइदामा हुनेछ। पोल्यान्डलाई अगाडि बढ्न बराबरीको नतिजा पनि पर्याप्त छ। अर्जेन्टिनालाई भने हारले प्रतियोगिताबाट बिदा गराउनेछ। सो खेल बराबरीमा सकिएमा अर्जेन्टिनाले साउदी अरब र मेक्सिकोबीचको खेलमा आफू अनुकूल नतिजाको कामना गर्नुपर्नेछ। विश्वकपमा पछिल्लो पटक यी दुई टिमबीच सन् १९७८ मा भिडन्त भएको थियो। सो खेलमा अर्जेन्टिना विजयी भएको थियो। पोल्यान्ड ३६ वर्षपछि समूह चरण पार गर्ने दाउमा छ।

मेक्सिको–साउदी अरब

विश्वकप फुटबलमा मेक्सिको कम्तीमा सधैँ अन्तिम १६ मा पुग्ने टिम हो तर यस पटक समूह ‘सी’मा आफ्नो अन्तिम खेल साउदी अरबविरुद्ध खेल्दा मेक्सिकोको यात्रा नकआउटअघि नै सकिन सक्छ। सुरुका दुई खेलबाट एक अङ्क मात्र बटुलेको मेक्सिकोलाई अगाडि बढ्न साउदी अरबलाई हराउनैपर्ने बाध्यता छ। मेक्सिकोले विश्वकपमा नजितेको चार खेल भइसकेको छ। यसबीच उसले गोल पनि गर्न सकेको छैन तर प्रशिक्षक टाटा मार्टिनोले साउदी अरबसँगको खेलमा आफ्नो टिम मेक्सिकोको भाग्य परिवर्तन हुने अपेक्षा गर्नुभएको छ। हाम्रो सम्भावना सकेको छैन। हामी छनोट हुन प्रयास गर्ने छौँ। साउदी अरबले जित्न खोज्नेछ, गोल गर्न प्रयास गर्नेछ, हामी पनि त्यस्तै गर्छौं, उहाँले भन्नुभयो। अहिलेसम्म यी दुई टिमबीच भएका पाँच खेलमध्ये मेक्सिकोले चार खेल जितेको छ। एक खेल बराबरीमा सकिएको थियो। त्यसैले पनि मेक्सिकोले आफ्ना आशा मारेको छैन।

मेक्सिकोबाट एक अङ्क प्राप्त गरे पनि साउदी अरबको अगाडि बढ्ने सम्भावना जीवित रहनेछ। यसो भएमा उसले पोल्यान्ड र अर्जेन्टिनाबीचको नतिजा पर्खनुपर्ने हुन्छ। साउदी अरब सन् १९९४ मा एक पटक विश्वकपको नकआउट चरणमा पुगेको छ। एपी