• १३ असोज २०८१, आइतबार

नयाँ सरकार आगामी पाँच वर्षकै लागि हुन्छ : नेकपा एस

blog

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा

काठमाडौं, मंसिर १३ गते । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ सरकार आगामी पाँच वर्षका लागि हुने गरी गठनको तयारी भइरहेको जनाएको छ । सचिवालय बैठकमा मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन एवम् मतपरिणामको प्रारम्भिक समीक्षा पनि भएको छ । 

 पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा आगामी पाँच वर्षसम्म अगाडि बढ्न सक्ने सरकार निर्माणलगायतका सन्दर्भमा प्रारम्भिक छलफल भएको बताउनुभयो । 

उहाँले नेपाली जनता, शुभचिन्तक, सरकारी निकायलगायत निर्वाचनमा सहभागी सबैलाई धन्यवाद प्रदान गर्दै भोलिका दिनमा गठबन्धन कायम राख्नुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मतदाताको प्रशंसा गर्दै जति मतपरिणाम प्राप्त गरेका छौँ, भविष्यमा थप उपलब्धिमूलक बनाउने निष्कर्ष निकालेका छौँ । मतपरिणाम सोचेजस्तो छैन । गठबन्धनसँगै लागेर प्राप्त उपलब्धिलाई कायम राख्दै गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ ।”

उहाँले केही ठाउँमा निर्वाचन हुनै बाँकी रहेको अवस्थामा निर्वाचनको पुरै समीक्षा भने बैठकमा हुन नसकेको बताउनुभयो ।  समानुपातिक मतपरिणामबाट प्राप्त हुने सिट सङ्ख्या जे होस यस विषयमा छलफल भएको उहाँको भनाइ छ ।