• १२ असार २०८१, बुधबार

प्रधानमन्त्रीसहित केही मन्त्रीहरू प्रतिनिधि सभामा विजयी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मंसिर १३ गते । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवासहित केही मन्त्रीहरू निर्वाचित हुँदा केही पराजित हुनुभएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट सातौँ पटक प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । केही बहालवाला मन्त्रीहरूकाे मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ ।

उहाँले २५ हजार ५३४ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभएको थियो ।

सहरी विकासमन्त्री एवम् एकीकृत समाजवादीका नेता मेटमणी चौधरी दाङ -१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । चौधरी पाँच हजार ८४ मतान्तरले विजयी हुनुभयो । उहाँले २६ हजार ५६३ मत ल्याउँदा नेकपा एमालेका शान्ता चौधरीले २१ हजार ४७९ मत ल्याउनुभयो ।

अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिम १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । शर्मा २६ हजार ५८८ मतान्तरमा निर्वाचित हुनुभयो । उहाँले ३९ हजार ५४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याउनुभयो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बाग्लुङ् – २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँले २४ हजार ७७९ मत ल्याएर विजयी हुनुभयो । एमालेका उम्मेदवार मञ्जु शर्मा चालिसेले २० हजार १८० मत पाउनुभएको थियो  ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू दार्चुला – १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । उहाँ २८ हजार ५१५ मत ल्याएर विजयी हुँदा एमालेका गणेशसिंह ठगुन्नाले २६ हजार ३८१ मत ल्याउनुभयो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर अछाम -१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । एकीकृत समाजवादीबाट उम्मेदवार रहनुभएका कुँवर १९ हजार ५३४ मतसहित निर्वाचित हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत ल्याउनुभयो । 


Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।