• १३ असोज २०८१, आइतबार

पाँचमध्ये चार पूर्वप्रधानमन्त्री चुनावमा विजयी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, मङ्सिर ११ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १५६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । पाँच शीर्ष नेता एवम् पूर्वप्रधानमन्त्री मध्ये चार निर्वाचित भइसक्नुभएको छ भने एक जना जितका लागि सङ्घर्ष गर्दै हुनुहुन्छ ।

डडेल्धुरा –१ बाट देउवा निर्वाचित २०४८ सालपछि लगातार चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विजयी हुनुभयाे । देउवा १२ हजार ४९२ को फराकिलो मतान्तरले विजयी हुनुभएको हो ।

उहाँले २५ हजार ५३४ मत ल्याउँदा प्रतिद्वन्द्वी स्वतन्त्र उठेका सागर ढकालले १३ हजार ४२ मत ल्याउनुभयो । उहाँ डडेल्धुराबाट लगातार चुनाव जितेर ५ पटकसम्म प्रधानमन्त्री बन्नुभयो । उहाँ २०५२, २०५८, २०६१, २०७४ र २०७८ साल गरेर पाँच पटक प्रधानमन्त्री बन्नुभएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा – ५ बाट निर्वाचित हुनुभयाे । ओली २८ हजार ५७६ फराकिलो मतान्तरले निर्वाचित हुनुभयो । उहाँले ५२ हजार ३१९ मत ल्याउँदा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत ल्याउनुभएको थियो । ओली दुई पटक नेपालको प्रधानमन्त्री भइसक्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा – २ बाट निर्वाचिन हुनुभयाे । १३ हजार ४६४ को फराकिलो मतान्तरले उहाँ विजयी हुनुभयाे । उहाँले २६ हजार १०३ मत ल्याउँदा प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३९ मत ल्याउनुभयो । उहाँ दुई पटक प्रधानमन्त्री बनिसक्नुभएको छ ।

यस्तै, पूर्वाप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल रौतहट – १ बाट निर्वाचित हुनुभयाे । नेपाल छ हजार ६०० को मतान्तरले विजयी हुुनुभयाे । उहाँले ३३ हजार ५२२ मत ल्याउँदा एमालेका अजयकुमार गुप्ताले २६ हजार ९२२ मत ल्याउनुभयो । उहाँ एकपटक नेपालको प्रधानमन्त्री बन्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल इलाम – १ मा पराजित हुनुभएको छ । उहाँ नेकपा एमालेका महेश बस्नेतसँग दुई हजार ९५७ मतले पराजित हुनुभएको हाे । बस्नेतले २४ हजार ३०४ मत ल्याउँदा खनालले २१ हजार ८०२ मत मात्र ल्याउनुभयो । वि.सं. २०४८ पछिका छ मध्ये पाँचवटा चुनाव जितेका नेता खनाल यसपटक भने पराजित हुनुभयाे ।

उहाँले विपक्षीबाट धाँधली भएकाे भन्दै पुनः मतगणनाकाे माग गर्नुभएकाे छ । साे क्षेत्रमा समानुपातिक निर्वाचनकाे मतगणना भएपछि मात्र निर्वाचन अधिकृतकाे कार्यालयले आधिकारिक रूपमा विजेता घाेषणा गर्ने जनाएकाे छ ।