• १३ असोज २०८१, आइतबार

कोहलपुरमा ८७२ वटा अनधिकृत होर्डिङ बोर्ड हटाइयो

blog

हटाइएका होर्डिङ र फ्ल्यास बोर्डहरू । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर १२ गते । कोहलपुर नगरपालिकाले बजार क्षेत्रका ८७२ वटा अनधिकृत होर्डिङ बोर्ड र फ्ल्यास बोर्ड हटाएको छ । 

नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका त्यस्ता अनधिकृत र मापदण्डविपरीतका होर्डिङ बोर्ड तथा फ्ल्यास बोर्डहरू हटाइएको नगरपालिकाले जनाएको हो । विज्ञापन प्रयोजनका लागि नगरपालिकाको स्वीकृति बिना राखिएका विभिन्न सङ्घसंस्थाका २२० वटा होर्डिङ बोर्ड र ६५२ वटा फ्ल्यास बाेर्डहरु हटाइएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण आचार्यले बताउनुभयो । 

उहाँले अटेरी निर्देशन पालना नगर्नेलाई जरिवाना गरिएको बताउनुभयो । मेयर आचार्यका अनुसार अहिलेसम्म २० हजार ५०० रुपियाँ जरिवाना असुल गरिएको छ । नगरपालिका प्रहरीको नियन्त्रणमा रहेका ती होर्डिङ बाेर्डहरु जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको पनि आचार्यले बताउनुभयो । 

अहिलेसम्म ४१ वटा होर्डिङ बोर्ड सम्बन्धित धनीले जरिवाना तिरेर लगिसकेका छन् । नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड र फ्ल्यास बाेर्डहरु जरिवाना तिरेर लैजान ७ दिने सूचना जारी गरिएको छ । ७ दिनभित्र लिन नआएको खण्डमा नगरपालिकाले कानुन अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।

सडक पेटी खाली गराउन थालियो

यसैबीच कोहलपुर नगरपालिकाभित्रका सडक पेटी पनि खाली गराउन थालिएको छ । ट्रस्ट तानेर सडक पेटी कब्जा गर्ने, पसल तथा ठेलाहरू राख्ने गरेको पाइएपछि नगरपालिका प्रहरीले त्यसलाई हटाउन सुरु गरेको हो । 

सर्वसाधारणलाई हिँडडुलमै समस्या पर्ने गरी सडक पेटीहरू कब्जा गरिएपछि नगर पालिकाले सातदिने सूचना जारी गरेर खाली गराउन अनुरोध गरेको थियो । सोहीअनुसार बसपार्क क्षेत्रबाट यो अभियान सुरु गरिएको मेयर आचार्यले बताउनुभयो । 

कोहलपुर नगरपालिकालाई व्यवस्थित बनाउने अभियान अन्तर्गत नगरपालिकाले कब्जा गरिएका सडक पेटी पनि खाली गराउन थालेको हो । नगरपालिकाबाट खटिएका अमिनहरूले नगर क्षेत्रभित्रको सडक पेटीलाई मार्किङ गरिसकेका छन् । केही व्यवसायीहरूले स्वस्फूर्त रुपमा पनि सडक पेटी खाली गरिसकेका छन् । यसअघि नगर क्षेत्र भित्रको फुटपाथ कब्जा गरी बसेका ठेलाहरूलाई नगर प्रहरीले हटाइसकेको छ । 

फुटपाथ खाली गराउने अभियानलाई अटेर गर्ने ५४ ठेला व्यवसायीलाई कारबाहीको दायरामा ल्याउने काम भएको मेयर आचार्यले बताउनुभयो । उहाँले त्यसबाट १६ हजार राजस्व सङ्कलन भएको पनि बताउनुभयो । यस्तै नगरपालिकाले रत्न राजमार्ग अन्तर्गत कोहलपुर चौराहादेखि सुर्खेत रोड सडक खण्डको वडा नं.२ सम्मको सार्वजनिक जग्गामा अतिक्रमण गरेर बसेका टहरा तथा पसलहरू पनि खाली गराएको छ ।