लक्ष्मी तिमिल्सेना
जमुनाह, चैत ११ गते । बाँके राष्ट्रिय निकञ्ज र भारतको शोहलुवा वन्यजन्तु आरक्ष जोड्ने कम्दी जैविक मार्ग (काेरिडोर)मा वन्यजन्तुको वासस्थान सुधार कार्यक्रम सुरु गरिएको छ। काेरिडोर क्षेत्रमा रहेका १८ वटा सामुदायिक वन र दुई वटा चक्ला वनमा वासस्थान सुधारका लागि घाँसे मैदान व्यवस्थापन, कृत्रिम पानी पोखरी निर्माण र पुनरुत्थान प्रवर्धनका काम भइरहेका छन् ।
डिभिजन वन कार्यालय बाँकेका योजना प्रमुख सुशील सुवेदीका अनुसार इलम परियोजनाको समन्वयमा ४५० वर्ग किलोमिटर क्षेत्रफलको काेरिडोरमा हालसम्म १५ वटा कृत्रिम पानी पोखरी निर्माण गरिएका छन् । यस्तै, ५६ हेक्टर जमिनमा पुनरुत्थान तथा वन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिएको छ ।
पुनरुत्थान कार्यक्रम अन्तर्गत झाडी हटाएर प्राकृतिक प्रजातिका साल, खयर, असना, धौठीलगायतका वनस्पतिको संरक्षण र संवर्धन गरिएको छ । "हामीले जैविक मार्गमा बासिन्दाको जीविकोपार्जनका साथै दिगो वन व्यवस्थापनमा जोड दिएका छौँ," योजना प्रमुख सुवेदीले भन्नुभयो ।
वन्यजन्तु सुधारसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तारजालीको व्यवस्थापन, वन उद्यम र दुना–टपरी उद्योगका लागि अनुदान सहयोग समेत उपलब्ध गराइएको छ । सो क्षेत्रमा हालसम्म सयभन्दा बढी वन्यजन्तुको उद्धार गरिएको र स्थानीयवासीलाई वन्यजन्तुको व्यवहारबारे सचेत गराउने कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ।
भगवती र त्रिशक्ति लगायतका सामुदायिक वनमा वन्यजन्तुको आहार वनमै उपलब्ध गराउने गरी काम भइरहेको छ । लुम्बिनी प्रदेश सरकारले बर्सेनि गर्दै आएको झाडी सफाइ कार्यक्रमलाई यस वर्ष इलम परियोजनाले पनि निरन्तरता दिएको छ । गत वर्ष मात्रै २० हेक्टर क्षेत्रफलमा वन्यजन्तुका लागि घाँसे मैदान निर्माण गरिएको थियो ।