• १३ असोज २०८१, आइतबार

सुदूरपश्चिम र कर्णाली विजयी

blog

म्यान अफ दि म्याच घोषित सुदूरपश्चिमका मिलन बोहोरा । तस्बिर : क्यान

काठमाडौं, मङ्सिर ११ गते । वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई एक सय १३ रनले हरायो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई दुई विकेटले पराजित गरेको छ । 

सुदूरपश्चिमको जारी प्रतियोगितामा यो लगातार तेस्रो जित हो । सुदूरपश्चिमले दिएको दुई सय १४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी ३२.५ ओभरमा सवै विकेटको क्षतिमा एक सय रनमा समेटिएको थियो । गण्डकीका लागि गोविन्द विकले २२ रन बनाउनुभयो ।

अर्जुन कुमालले २०, कप्तान सुवास भण्डारीले १६ र करण पगेनीले १५ रन बनाउनुभयो । बलिङमा सुदूरपश्चिमका मिलन बोहोराले एक्लैले ६ विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.३ ओभरमा सवै विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि आकाश चन्दले ४०, कप्तान अनुर्ग सिंहले ३७, नरेन साउदले २८, मिलन बोहोराले २४ तथा सुनिल चन्द, हेमन्त धामी, गजेन्द्र बोहोराले समान १९/१९ रन बनाउनुभयो । दिपक बोहोराले ११ रन जोड्नुभयो । बलिङमा गण्डकीका लागि कप्तान सुवास भण्डारीले तीन तथा सुदीप अर्याल सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरि र शिशिर भुषालले एक एक विकेट लिनुभयो । 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले दिएको एक सय ३६ रनको विजय लक्ष्य कर्णालीले ३४.४ ओभरमा आठ विकेटको क्षतिमा पूरा गरेको थियो । कर्णालीका लागि मोहन विकले अविजित ३८ रन बनाउनुभयो । मनीष थापाले ३२, अनिरुद्ध कवारले १६ र सुवास ऐरले १४ रन बनाउनुभयो । बलिङमा मधेशका रन्जितकुमारले पाँच तथा अजित मण्डलले दुई विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको मधेशले ४१.५ ओभरमा अलआउट एक सय ३५ रन बनाएको थियो । मधेशका लागि शैलेन्द्र शाहले ३१ रन बनाउनुभयो । मयन यादवले १८, शरफज मन्सुरले अविजित १७, मेघराज रामले १६ र डब्लु मल्लिकले १५ रन बनाउनुभयो ।

बलिङमा कर्णालीका यूनिस सिंहले पाँच विकेट लिनुभयो । मोहन विक र आवास शाहले दुई दुई विकेट झार्नुभयो । सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजक नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।