• १३ असोज २०८१, आइतबार

गुल्मी–२ मा समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो

blog

रमेश विश्वकर्मा 

गुल्मी, मङ्सिर ११ गते । गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको समानुपातिक मत परिणामअनुसार नेकपा (एमाले) पहिलो र नेपाली काँग्रेस दोस्रो बनेको छ । कुल खसेको ५९ हजार ४११ मतमध्ये प्रतिनिधि सभाका लागि यस क्षेत्रमा नेकपा (एमाले) ले २५ हजार १३० मत प्राप्त गरेर पहिलो र नेपाली कांग्रेसले १८ हजार ४५१ मत प्राप्त गरेर दोस्रो बनेको हो । 

यस क्षेत्रमा समानुपातिकमा नेकपा (एमाले) ले नेपाली कांग्रेसको भन्दा छ हजार ६७९ मत बढी प्राप्त गरेर पहिलो बनेको हो । यस क्षेत्रमा नेकपा (माओवादी केन्द्र) तेस्रो बनेको छ । नेकपा (माओवादी केन्द्र) ले पाँच हजार ४३७ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले यस क्षेत्रमा चौथो बनेको छ । यसले चार हजार २६३ मत प्राप्त गरेको छ । 

निर्वाचन अधिकृतको कार्यालयकाअनुसार यस क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)को कलम चिन्हले यस क्षेत्रमा एक हजार ६०३ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्हले ८५२ मत प्राप्त गरेको छ । राष्ट्रिय जनमोर्चाको गिलास चिन्ह ४५४ मत छ । जनता समाजवादी पार्टी, नेपालको छाता चिन्हले १२१ मत प्राप्त गरेको छ । 

त्यस्तै, नेपाली जनता दलको गोरु गाडाको चक्का (पाङ्ग्रो) ले ११५ मत छ । नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) को हँसिया र तारा चिन्हले १०९ मत छ । मङ्गोल नेशनल अर्गनाइजेशनको कुखुराको भाले चिन्हले ९१ मत छ । हाम्रो नेपाली पार्टीको लौरो चिन्हमा ५९ मत छ । 

यस क्षेत्रको प्रदेशसभातर्फ पनि नेकपा (एमाले) पहिलो बनेको छ । एमालेले प्रदेशसभातर्फको समानुपातिक मत परिणामअनुसार २६ हजार ४६१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १९ हजार ७७२ मत प्राप्त गरेर दोस्रो बनेको छ । नेकपा (माओवादी केन्द्र) ले चार हजार ५५८ मत प्राप्त गरेको छ । नेकपा (एकीकृत समाजवादी) ले दुई हजार ४७० मत प्राप्त गरेको छ । 

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७९८ मत प्राप्त गरेको छ । राष्ट्रिय जनमोर्चाले ५३२ मत प्राप्त गरेको छ । हाम्रो नेपाली पार्टीले २७० मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी, नेपालले १०७ मत प्राप्त गरेको छ । मङ्गोल नेशनल अर्गनाइजेशनले १०६ मत प्राप्त गरेको छ । जनमत पार्टीले ९० मत प्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले ७९ मत प्राप्त गरेको छ । नेपाली जनता दलले ६६ मत प्राप्त गरेको नेपाल आमा पार्टीले ५५ मत प्राप्त गरेको छ । 

यस क्षेत्रमा प्रतिनिधि सभाका लागि ४७ दल र प्रदेश सभाका लागि ३२ दल प्रतिस्पर्धामा थिए । एक लाख चार हजार ३२७ मतदाता रहेको यस क्षेत्रमा प्रतिनिधि सभातर्फ कुल खसेको ५९ हजार ४११ समानुपातिक मतमा दुई हजार ४०२ मत बदर भएको छ । प्रदेश सभातर्फ ५८ हजार ३५० समानुपातिक मत खसेको थियो । जसमा दुई हजार ८०० मत बदर भएको छ । 

यता, निर्वाचन क्षेत्र नम्बर–१ मा भने प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको समानुपातिक मत गणना जारी छ । अहिलेसम्म भएको मतगणनाअनुसार नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो बनेको छ ।