• १३ असोज २०८१, आइतबार

दोस्रो अभ्यास खेलमा नेपाल विजयी

blog

टसपछि नेपाल र डिडिसिएका कप्तान । तस्बिर : क्यान

काठमाडौं, मंसिर १० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको दिल्ली जिल्ला क्रिकेट एसोसिएसन (डिडिसिए)विरुद्धको दोस्रो अभ्यास खेलमा जित निकालेको छ । दिल्लीस्थित अरुन जेट्ली क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले डिडिसिएलाई ६ विकेटले हरायो ।

डिडिसिएले दिएको एक सय ५९ रनको विजय लक्ष्य पछ्याएको नेपालले २८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालको जितमा ज्ञानेन्द्र मल्लले अविजित ४८ रन बनाउनुभयो ।

आसिफ शेखले ३०, अर्जुन साउदले २८ र कप्तान रोहित कुमार पौडेलले २४ रन बनाउनुभयो । बलिङमा डिडिसिएका लागि सिद्धान्त शर्मा, रवि रोशन, पर्थ वाडर र ध्रुव चौहानले एक एक विकेट लिनुभयो । 

यसअघि पहिलो ब्याटिङ गरेको डिडिसिएको ४०.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ५८ रन बनाएको थियो । डिडिसिएका लागि काव्य गुप्ताले अविजित ३४ रन बनाउनुभयो । सलिल मल्होत्राले ३१, कप्तान वैभव शर्माले २६, कनभ गम्भीरले २१ र पर्थ वाडहाराले १३ रन बनाउनुभयो ।

बलिङमा नेपालका सागर ढकालले पाँच विकेट लिनुभयो । कुशल भुर्तेलले दुई तथा हरिशंकर शाह, ललित नारायन राजवंशी र सोमपाल कामीले एक एक विकेट झार्नुभयो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल (डिडिसिए) सँग दुई विकेटले पराजित भएको थियो । नेपालले आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणको तयारीका लागि डिडिसिएसँग अभ्यास खेल खेलेको हो ।

नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुन आइसिसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न नेपाल भारतबाटै आइतबार नमिबिया प्रस्थान गर्नेछ । लिग–२ सिरिजमा नेपाल, नामिबिया र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । लिग–२ मा हाल नेपाल १७ अङ्कसहित छैटौँ स्थानमा छ ।