• ११ चैत २०८२, बुधबार

ललितपुर–१ मा चार हजार ६१४ मतान्तरले उदयशम्शेर विजयी

blog

ललितपुर, मङ्सिर ७ गते । ललितपुर–१ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो ।

राणाले २३ हजार ८९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका सिलवालले १९ हजार २७८ मत प्राप्त गर्नुभएको छ ।

यसअघि विसं २०७४ पनि प्रतिनिधि सभाका लागि राणा र सिलवाल नै प्रतिस्पर्धामा हुनुहुन्थ्यो । २०७४ मा यस क्षेत्रबाट सिलवालले २६ हजार ९५१ मत प्राप्त गरी प्रतिनिधि सभामा जित हासिल गर्दा राणाले २० हजार ७२९ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका डा सचिन घिमिरेले तीन हजार २७७, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्दीप आचार्यले एक हजार ६४१ मत प्राप्त गर्नुभयो ।

कुल ७४ हजार तीन सय ९७ मतदाता रहेको यस क्षेत्रमा ५० हजार ७७३ मत खसेको थियो । खसेको मतमध्ये एक हजार ८०२ मत बदर भएको छ भने ४८ हजार ७८१ मत सदर भएको छ ।