• ११ चैत २०८२, बुधबार

कांग्रेसमा महाधिवेशन गर्न तालिकासहितको प्रस्ताव

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, चैत ११ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ भदौ २४, २५ र २६ गते गर्न प्रस्ताव पेस भएको छ । सभापति गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा मङ्गलबार पार्टीका संस्थापक बिपी कोइरालाको जन्मजयन्तीकै दिन भदौ २४ गतेदेखि १५ औँ महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको हो । 

बैठकमा प्रस्तुत प्रस्तावमा गाउँपालिका र नगरपालिका अधिवेशन २०८३ साउन १२ गते, प्रदेश सभा निर्वाचन क्षेत्र कार्यसमितिको अधिवेशन साउन २३ गते प्रस्ताव गरिएको छ । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्रगत अधिवेशन र एक मात्र क्षेत्र भएका जिल्लाको अधिवेशन साउन ३० गते गर्ने भनिएको छ । सोही दिन महाधिवेशन प्रतिनिधि चयन र कार्यसमिति निर्वाचन गरिने छ । साथै गाउँ–नगर वडा अधिवेशन साउन ६ गतेका लागि प्रस्ताव गरिएको छ । जस अनुसार छ हजार ७४३ वटै वडामा अधिवेशन र क्षेत्रीय प्रतिनिधि चयन गरिने छ । 

जिल्ला कार्यसमितिको अधिवेशन भदौ ६ र ७ गते र प्रदेश अधिवेशन भदौ १५ र १६ गतेका लागि प्रस्ताव गरिएको छ । नेपाली जनसम्पर्क समिति अधिवेशन २०८३ साउन मसान्तभित्र गर्ने भनिएको छ । क्रियाशील सदस्यता वितरण र अद्यावधिक विशेष अभियान २०८२ चैत २१ देखि चैत मसान्तसम्म सञ्चालन गर्ने, २०८३ वैशाख १ गतेदेखि वैशाख मसान्तसम्म सदस्यता वितरण र अद्यावधिक कार्यमा समन्वय गर्न १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने भनिएको छ । 

असार १५ सम्ममा प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन, विवाद र समस्या भएका स्थान पहिचान गरी सदस्यता रुजु तथा अध्ययन गर्ने र अन्तिम टुङ्गोमा पु¥याउने प्रस्ताव गरिएको छ । असार मसान्तसम्ममा केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरु हुनुपूर्वै निर्वाचन समितिलाई उपलब्ध गराउन प्रस्ताव प्रस्तुत गरिएको छ । 

बृहत् सुधारको सङ्कल्प 

कांग्रेस सभापति गगनकुमार थापाले बृहत् सुधारको सङ्कल्प गर्नुभएको छ । केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उहाँले पार्टीभित्र व्यापक शुद्धीकरण र संरचनात्मक रूपान्तरणका लागि बृहत् सुधारको योजना कार्यान्वयन गर्ने सङ्कल्प गर्नुभएको हो । चैत ४ गते सभापति थापाले पदबाट राजीनामा दिनुभए पनि चैत ८ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गर्ने निर्णय गरेपछि उहाँ पूर्ववत् जिम्मेवारीमा फर्कनुभएको हो । 

उहाँले कांग्रेसभित्र सामान्य नभई व्यापक सुधार आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्ताका लागि गरिने सिद्धान्तहीन सम्झौता र राज्यशक्ति दुरुपयोग जस्ता मैला पात हटाउनुपर्ने बेला आएको छ । पार्टीको भद्दा संरचनाले यसको मौलिकता थिचिएको छ । चार पुस्ताको विविधतालाई कांग्रेसको शक्तिमा बदल्नुपर्ने छ ।”

सभापति थापाले कांग्रेस पार्टी ‘निर्वाचन उपकरण’ मात्रै नभएको प्रस्ट पार्दै सामाजिक आन्दोलनका रूपमा जीवन्त पुनर्जागृत गर्ने बताउनुभयो । उहाँले निर्वाचनको पराजयको जिम्मेवारी लिने र जवाफदेही बन्ने प्रस्ट पार्नुभयो । 

सम्पत्ति छानबिन र संविधान संशोधन गर्न माग 

सभापति थापाले २०४६ को जनआन्दोलनपछि सार्वजनिक पदमा बसेका सबै पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताउनुभयो । उहाँले गलत ढङ्गले आर्जन गरिएको सम्पत्ति जफत गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो प्रतिज्ञापत्रको मुख्य बुँदा हो । गिरीबन्धु, ललितानिवास, वाइडबडी जस्ता चर्चित प्रकरण अब सार्वजनिक खपतको विषय मात्र होइनन् । दोषीले सजाय पाउने गरी छानबिन हुनु पर्छ ।”

सभापति थापाले संविधानका आधारभूत विषय नचलाई सुशासन र राज्य प्रणालीका सेवालाई प्रभावकारी बनाउन संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेस नेताको संयोजकत्वमा विज्ञ सम्मिलित समिति बनाउने र समितिले पार्टीभित्र, संसद्का दल र संसद्बाहिरका शक्तिसँग छलफल गरी राष्ट्रिय सहमतिका लागि पहल गर्ने प्रस्ट पार्नुभयो । 

उहाँले सार्वजनिक जिम्मेवारीमा जान चाहने नेताका लागि ‘कांग्रेस लिडरसिप एकेडेमी’ अवधारणामा काम गर्ने, पालिका प्रमुख एवं अध्यक्ष बन्न चाहनेले सार्वजनिक नीति, अर्थतन्त्र र सुशासनबारे कक्षा लिनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनपछि कांग्रेसले प्राप्त गरेको प्रतिपक्षको भूमिकालाई रचनात्मक रूपमा निर्वाह गर्ने प्रस्ट पार्नुभयो ।