• १२ असोज २०८१, शनिबार

निर्माण क्षेत्रका रुख कटान सम्पन्न

सगरमाथा आन्तरिक विमानस्थल

blog

भक्तिविलास पोखरेल 

गाईघाट, मङ्सिर ७ गते । उदयपुरमा आन्तरिक विमानस्थल निर्माण गर्न करिब १४ हजार सखुवाका रुख काटिएको छ। त्रियुगा नगरपालिका वडा नं. १ र २ को जोगिदहस्थित कङ्ग र मोथियाही सामुदायिक वनको सीमाभित्र विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका रुख काटिएको हो। 

झन्डै पाँच दशक पहिलेदेखि प्रतीक्षित आयोजनाका रूपमा विमानस्थल रहेको थियो। निर्माणका लागि अनेक कानुनी झञ्झट पार गर्दै बल्ल रुख कटान सम्पन्न गरिएको मोथियाही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामश्रीष्ठ चौधरीले बताउनुभयो। 

वन तथा भू–संरक्षण विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच विमानस्थलको भौतिक पूर्वाधारहरू निर्माण गर्न वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने सम्झौता २०७८ माघ २४ गते भएको थियो। 

राष्ट्रिय योजना आयोगले सगरमाथा आन्तरिक विमानस्थललाई राष्ट्रिय प्राथमिकता प्राप्त योजनामा समावेश गरी काम अगाडि बढाएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल निर्माण गर्ने आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचिमा राखेर कामअघि बढाएपछि निर्माण क्षेत्रभित्रका सबै रुख काटिएको हो।

सम्झौतामा विमानस्थल निर्माणका लागि वन क्षेत्रमा छुट्याइएको १५६.११ हेक्टर क्षेत्रफलमध्ये १०५.१० हेक्टर क्षेत्रफलमा रहेका रुख मात्र काटिएको र बाँकी रहेको ५०.४१ हेक्टर क्षेत्रफलका रुख कटान नगरी यथास्थितिमा हरियाली कायम राख्नुपर्ने उल्लेख छ। रुख कटान गर्न ठेक्का आह्वान गरेपछि मङ्गलबारसम्म करिब ७० प्रतिशत सखुवाका रुख काटिसकेको व्यवसायी खिलाराज पोखरेलले बताउनुभयो।

‘एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड’ निर्माण गर्ने नेपाल सरकारको पूर्व घोषित नीतिअनुसार अन्य क्षेत्रमा पनि काम भइरहेको छ। उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १ र २ को जोगिदहमा एटीआर ७२ डिजाइनको जेटस्टिम एप्रो विमान उडान र अवतरण गर्नसक्ने क्षमताको विमानस्थल बनाउन लागिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

यहाँ एक हजार ७५० मिटर लामो र ३० मिटर चौडाइ भएको धावन मार्ग, दुई सय मिटर लामो र ६० मिटर चौडाइको एप्रोनसहितको टर्मिनल भवन, कर्मचारी भवन र ट्याक्सी गुड्ने दुईवटा सडकको लागि १५६.११ हेक्टर वन क्षेत्रको जग्गा अधीकरण गरेको छ। रुख कटानसँगै विमानस्थल निर्माणका कामले गति लिएको सगरमाथा विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्रकुमार बस्नेतले बताउनुभयो।