• ९ मंसिर २०८१, आइतबार

धादिङको दुवै क्षेत्रमा गठबन्धन अगाडि

blog

मुरारी अधिकारी

धादिङ, मङ्सिर ७ गते । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिनुभएको छ । 

धादिङ प्रतिनिधि सभा १ मा गणना भएको मतको परिणाम अनुसार एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले १३ हजार ६ सय ८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १२ हजार ६ सय २८ मत प्राप्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले चार हजार चार सय ४३ प्राप्त गरेका छन् । यो क्षेत्रमा ८१ हजार १ सय २६ मत खसेको छ ।

धादिङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारीले २६ सय २६ मतले अग्रता लिनुभएको छ । अहिलेसम्मको गणना भएको मत परिणाम अनुसार अधिकारीले १२ हजार ६ सय ७८ मत पाउनु भएको छ । 

नेकपा एमालेका खेम प्रसाद लोहनीले १० हजार ५२ मत पाउनुभएको छ । यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको छ ।

मतगणनाको अहिलेसम्मको परिणामले क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीबीच कडा टक्कर देखिएको छ। क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी लगातार अगाडि देखिनुभएको छ । मतगणना ठिलो हुँदा परिणाम आउन अझै दुई दिन लाग्न सक्ने देखिन्छ ।