• ९ मंसिर २०८१, आइतबार

काभ्रेका दुवै क्षेत्रमा गठबन्धन अघि

blog

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, मङ्सिर ७ गते । काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा तथा प्रदेश सभा दुवैतर्फको मतगणनामा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्। मतगणना सुरु भएदेखि अग्रता कायम गर्दै आएका गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन् । उम्मेदवारहरुबीच मतान्तर घटाउने र बढाउने क्रम चलिरहेको छ । 

जिल्लाको प्रतिनिधि सभा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान तामाङ दोङ अग्रस्थानमा नै रहनुभएको छ । उहाँलाई एमालेका उम्मेदवार रेशम लामाले पछ्याइरहनु भएको छ । बुधबार बिहान साढे ६ बजेसम्म प्रतिनिधि सभा १ मा नौं हजार ६०५ मतगणना हुँदा माओवादी केन्द्रका दोङले चार हजार ३३० मत, एमालेका लामाले तीन हजार ७३३ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका बसुनारायण श्रेष्ठले ७८९, राप्रपाका पूर्णबहादुर विश्वकर्माले १८२ मत र नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) ले १०२ मत प्राप्त गर्नुभएको छ । माओवादीका दोङ र एमालेका लामाबीच ५९७ मत फरक रहेको छ । प्रतिनिधि सभा १ मा हालसम्म ३६१ मत बदर भएको छ । 

यसैगरी जिल्लाको प्रतिनिधि सभा २ अन्तर्गत बुधबार बिहान साढे ६ बजेसम्मको मतगणनामा नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईँले अग्रता कायम नै राख्नुभएको छ । हालसम्म हुमागाईँले ११ हजार २१० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले दश हजार ५४ मत प्राप्त गर्नुभएको छ । हुमागाईँ र बाँस्कोटाबीच एक हजार १५६ मतान्तर रहेको छ । प्रतिनिधि सभा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले तीन हजार ९४५ मत र राप्रपाका यसु आले मगरले ४१५ मत र नमकिपाका कृष्णकुमार वैद्यले २९५ मत प्राप्त गर्नुभएको छ । 

काभ्रे प्रतिनिधि सभा १ अन्तर्गतको प्रदेश सभा (क) तर्फ नेकपा माओवादी केन्द्रका रत्न ढकालले पाँच हजार २९ मत र एमालेका दिलबहादुर तामाङले चार हजार ३५५ मत पाउनुभएको छ । यो प्रदेश सभामा राप्रपाका नन्दलाल श्रेष्ठले ५२३ मत पाउनुभएको छ । 

हालसम्म प्रदेश सभा (क) को ११ हजार ४७ मत गणना हुँदा ५६२ मत बदर भएको छ । प्रतिनिधि सभा १ प्रदेश सभा (ख)तर्फ नेपाली कांग्रेसका तीर्थबहादुर लामाले पाँच हजार १४३ मत र एमालेका चन्द्रबहादुर लामाले चार हजार १४७ मत पाउनु भएको छ । यो क्षेत्रमा राप्रपाका सहदेव भण्डारीले ३८३ मत पाउनुभएको छ । प्रदेश सभा (ख) मा १० हजार २९३ मतगणना हुँदा २८१ मत बदर भएको छ । 

यसै गरी जिल्लाको प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश सभा (क) मा नेकपा एसका लक्ष्मण लम्सालले पाँच हजार १७५ मत, एमालेका कुमारप्रसाद खकुरेलले चार हजार १६२, हाम्रो नेपाली पार्टीका ताराबहादुर कुँवरले ६९६ मत, राप्रपाका रञ्जिव श्रेष्ठले ६४१ मत पाउनु भएको छ । प्रदेश (ख) तर्फ नेपाली काङ्ग्रेसका कञ्चनचन्द्र वादेले तीन हजार ६७९ मत र एमालेका कुमार थापाले तीन हजार २९० मत, राप्रपाका रामकृष्ण लामाले ४१३ मत प्राप्त गर्नुभएको छ ।