• १३ असोज २०८१, आइतबार

बागमतीका अधिकांश जिल्लामा मतगणना सुरु

blog

बागमती प्रदेश ब्युरो

हेटौँडा, मङ्सिर ६ गते । आइतबार भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना कार्य सुरु भएको छ । बागमती प्रदेशका केही जिल्लामा ढिला गरी मतगणना सुरु भए पनि अधिकांश जिल्लामा सोमबार बिहानैबाट मतगणना प्रक्रिया सुरुभएको छ ।

मतदान स्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । प्रतिनिधि सभाको ३३ र प्रदेश सभाको ६६ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार अगाडि रहेका छन् । यस प्रदेशमा प्रदेश सभा सदस्यमा प्रत्यक्षमा ६६८ उम्मेदवार प्रतिस्पर्धामा गरेका थिए ।

धादिङ १ मा गणना सुरु

धादिङ समाचारदाता मुरारी अधिकारीका अनुसार धादिङ जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ भएको मतगणनाको प्रारम्भिक मतगणनामा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का राजेन्द्रप्रसाद पाण्डे अगाडि रहनुभएको छ भने उहाँका प्रत्यासी एमालेका भूमिप्रसाद त्रिपाठीले पछ्याइरहनुभएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्त तेस्रो स्थानमा रहनुभएको छ । हालसम्मको मतगणनामा २९ मत बदर भएको छ । यो क्षेत्रमा ६७ हजार ६०१ मत खसेको छ ।

सिन्धुलीमा मतगणना सुरु

सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार सिन्धुली जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सोमबार साँझबाट सुरु भएको छ । मतगणना सुरु गर्न बसेको सर्वदलीय बैठकमा विवादित मतपत्रलाई सदर गर्ने भन्ने सहमति जुटेपछि साँझबाट मतगणना सुरु भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “एउटा सामान्य प्राविधिक समस्या थियो । एउटा मतपत्र दिनुपर्नेमा अर्को खालको दिएको । तल चाहिँ उनीहरूले मुचुल्का उठाएर सर्वसम्मत गरेर पठाएका रहेछन् । त्यसैलाई कार्यान्वयन गर्ने सहमति भयो ।” मतगणना सुरु गर्न बिहान बसेको सर्वदलीय बैठकमा मतपत्रको विषयमा विवाद भएपछि सोमबार दिउँसो १ बजेबाट सुरु गर्ने भनिए पनि मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन क्षेत्र नं. २ को मरिण गाउँपालिका–५ स्थित चिसापानी मतदान केन्द्रमा प्रदेश सभा (ख)को ४० वटा मतपत्र प्रतिनिधि सभा सदस्यको मतपेटिकामा परेको उम्मेदवारको दाबीपछि विवाद उत्पन्न भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताउनुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदरमुकामस्थित तरकारी तथा कन्दमूल विकास केन्द्रमा तीन स्थानमा छवटा टोली बनाएर मतगणना सुरु भएको छ । सुरक्षा व्यवस्था कडा बनाइएको र मतगणना स्थलमा तारजाली र सीसी क्यामराको व्यवस्था गरिएको छ । मतपरिणाम बाहिर सार्वजनिक गर्न ठाउ“ठाउ“मा माइकको व्यवस्था गरिएको छ ।

समानुपातिकको समेत मत सँगसँगै गनिने भएकाले चारदेखि पा“च दिनभित्रमा मतगणना सकिने अनुमान सो कार्यालयले गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिन्धुली जिल्लामा ५७ दशमलव ५६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा एक लाख सात हजार १३६ मतदाता रहेकामा ६३ हजार २९६ र क्षेत्र नं. २ मा एक लाख एक हजार २३३ मतदाता रहेकामा ५६ हजार ६३३ मत खसेको थियो ।

मकवानपुरमा कांग्रेस र एमाले अगाडि

मकवानपुर समाचारदाता राममणि दाहालका अनुसार मकवानपुरमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनको मतगणना कार्य सोमबारबाट सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेस र क्षेत्र नं. २ मा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिनुभएको छ ।

त्यसैगरी निर्वाचन क्षेत्र नं. २ मा भएको मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार एमालेका महेशकुमार बर्तौलाको मत अगाडि रहेको छ भने त्यसपछि नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले पछ्याइरहनुभएको छ । प्रत्यक्षतर्फको प्रतिनिधि सभा सदस्यसँगै प्रदेश सभा र समानुपातिक तर्फको मतगणना जारी रहेको छ ।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले आयोगको निर्देशनपछि प्रत्यक्ष र समानुपातिकको मतगणना एकै पटक सुरु गरिएको जानकारी दिनुभयो । प्रतिनिधि सभाको दुइटा निर्वाचन क्षेत्र रहेको यस जिल्लाको मतगणना कार्य हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविमा भइरहेको छ । मकवानपुरमा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको अनुपातमा यस आमनिर्वाचनमा कम मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर ५९ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. १ मा कुल मतदाता एक लाख ५० हजार १५५ रहेकामा महिला ४५ हजार ४५६, पुरुष ४६ हजार १२३ र अन्य चार गरी ९१ हजार ५८३ अर्थात् ६०.९९ प्रतिशतले मतदान गरेका छन् ।

यस्तै निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता एक लाख ५० हजार ५७८ मतदाता रहेकामा ४६ हजार ७२३ पुरुष र ३९ हजार ९२९ महिला गरी ८६ हजार ६५२ अर्थात् ५७.५८ प्रतिशत मतदाताले मतदान गरेका थिए । १० स्थानीय तह रहेको यस जिल्लामा १६७ मतदान स्थल र दुई अस्थायीसहित ३६६ मतदान केन्द्रमा मतदान भएको थियो ।

जिल्लाको प्रतिनिधि सभा सदस्यमा निर्वाचन क्षेत्र नं. १ मा दुई स्वतन्त्रसहित १७ जना र क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १० जना प्रतिस्पर्धामा छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा दुई स्वतन्त्रसहित १० जना र प्रदेश सभा निर्वाचन क्षेत्र (ख)मा छ जना स्वतन्त्रसहित १५ जना तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा तीन स्वतन्त्रसहित आठ जना र प्रदेश सभा निर्वाचन क्षेत्र (ख)मा तीन जना स्वतन्त्रसहित १० जना प्रदेश सभा सदस्यमा उम्मेदवार रहेका छन् । मकवानपुरमा एक लाख ५३ हजार ५२८ पुरुष, एक लाख ४७ हजार दुई सय महिला र अन्य पाँच जना गरी तीन लाख ७३३ मतदाता रहेका छन् ।

मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता 

दोलखा समाचारदाता बाबुराम शर्माका अनुसार प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोलखाबाट उम्मेदवार रहेका तीन जनाले आइतबार भएको केही मतदानप्रति असन्तुष्टि रहेको भन्दै मुख्य निर्वाचन कार्यालयमा उजुरी दर्ता गराएका छन् । 

केही निर्वाचन केन्द्रमा पुनः मतदान हुनुपर्ने माग राखी प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालकृष्ण सिवाकोटी तथा प्रदेश (क)का उम्मेदवार नरबहादुर श्रेष्ठ र प्रदेश (ख)का उम्मेदवार भरतबहादुर केसीले केही निर्वाचन क्षेत्रमा भएको मतदानप्रति असन्तुष्टि व्यक्त गर्दै उजुरी दर्ता गराएको बताइएको छ । 

पुनः मतदान गर्न माग गरिएका मतदान केन्द्रहरू कालिञ्चोक गाउँपालिका–१ को बेगुम्पा मतदान केन्द्र, शैलुङ गाउँपालिकाको नवीन मावि मतदान केन्द्र, वैतेश्वर गाउँपालिकाको वैतेश्वर मावि केन्द्र, तामाकोसी गाउँपालिकाको जामुने र कालापानी केन्द्र, शैलुङको भुसफेदा, मेलुङको जुकेपानीका केन्द्र छन् । 

बुथ कब्जा गरी मतदान भएको आरोप लगाउँदै पुनः मतदानको माग गरिएका यी स्थानमा पुनः मतदान नभएसम्मका लागि मतगणना कार्यमा सहभागी नहुने पनि पत्रकार सम्मेलन गरी नेकपा (एमाले)ले जानकारी गराएको छ । आएको उजुरी निर्वाचन आयोगमा पठाइएको जानकारी दिँदै आयोगबाट आएको आदेशबमोजिम हुने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।  

तारजाली र सीसी क्यामरा 

बनेपा समाचारदाता केदार तिमल्सिनाका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनको मतगणनाका लागि काभ्रेपलाञ्चोक जिल्लाको दुवै क्षेत्रको मतगणना स्थलमा तारजाली र सीसी क्यामराको व्यवस्था गरिएको छ । मतगणनाका क्रममा हुन सक्ने अवाञ्छित गतिविधि र मतगणनाको सुरक्षाका लागि प्रशासनले दुवै निर्वाचन क्षेत्रको मतगणना स्थलमा तारजाली र सीसी क्यामराको व्यवस्था गरेको हो । प्रतिनिधि सभा क्षेत्र (क)को मतगणना स्थल पनौती नगरपालिकाको सभा हलमा रहेको छ । प्रतिनिधि सभा क्षेत्र नं. १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले डाँडापारि क्षेत्रका तीनवटा वडाको छवटा मतदान केन्द्रको मतपेटिका आउन ढिलाइ भएका कारण मतगणनाको काममा ढिलाइ भएको बताउनुभयो । 

यसैगरी प्रतिनिधि सभा क्षेत्र न.. २ को मतगणना धुलिखेलस्थित शिक्षा तालिम केन्द्रमा गरिएको छ । प्रतिनिधि सभा–२ को मतगणना कार्य सोमबार साँझबाट सुरु भएको छ । मतपेटिका व्यवस्थापनमा ढिलाइ भएका कारण मतगणनाको काममा ढिलाइ भएको प्रतिनिधि सभा (ख)का सहायक निर्वाचन अधिकृत शेषराज दाहालले जानकारी दिनुभयो । 

तीनवटै निर्वाचन क्षेत्रमा मतगणना सुरु

चितवन समाचारदाता शालिग्राम नेपालका अनुसार आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मतगणना कार्य चितवनमा सोमबार दिउँसोबाट सुरु भएको छ । सर्वदलीय बैठक बस्न ढिला भएका कारण मतगणना कार्यमा ढिलाइ भएको हो । चितवनको निर्वाचन क्षेत्र नं. १ मा दिउँसोबाट गणना कार्य सुरु भएको थियो । 

यसैगरी चितवनको निर्वाचन क्षेत्र नं. २ को मतगणना इच्छाकामना गाउँपालिकाबाट गरिएको छ । यस पालिकामा एमालेका कृष्णभक्त पोखरेलको अग्रता रहेको छ भने कांग्रेसका उमेश श्रेष्ठले पोखरेललाई पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मत तेस्रो स्थानमा आएको छ । निर्वाचन क्षेत्र नं. ३ को पनि मतगणना कार्य सोमबारबाट सुरु भएको छ । यहाँ नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारी, एमालेको साथ पाउनुभएका स्वतन्त्र उम्मेदवार दिनेश कोइराला, राप्रपाका विक्रम पाण्डे प्रतिस्पर्धामा हुनुहुन्छ ।