• १३ असोज २०८१, आइतबार

नवलपुरमा ६६ प्रतिशत मत खस्यो, देवचुलीमा पुन: मतदान

blog

मीना कँडेल

कावासोती, मङ्सिर ५ गते । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा नवलपुरमा ६६.४९ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार जिल्लामा ६६ दशमलब ४९ प्रतिशत मत खसेको हो ।

महिला ९६ हजार ६८०, पुरुष ७६ हजार ५०० र अन्य १ गरि कुल १ लाख ७३ हजार १८१ मत खसेको उहाँले बताउनुभयो । जिल्लामा १ सय १३ मतदान स्थल रहेकोमा ३ सय २ मतदान केन्द्रमध्ये देवचुली–४ को मतपेटिकामा आगजनी भएको थियो ।

यस बाहेकका अन्य स्थानमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको उहाँले बताउनुभयो । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको नवलपुरमा कुल २ लाख ६० हजार ४६१ मतदाता  थिए ।

देवचुलीमा पुन: मतदान

पूर्वी नवलपरासीको देवचुलीमा पुन मतदान भएको छ । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो । 

कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो । जसमा महिला ३०५ र पुरुष २७० गरी ५७५ मत खसेको निर्वाचन अधिकृत ज्ञानप्रसाद भुसालले जानकारी दिनुभयो ।

स्थानीय नारायण भण्डारीले शान्ति सृजना आधारभूत विद्यालय मतदान केन्द्रको समानुपातिकतर्फको मतपेटिका जलाइदिएका थिए । त्यसपछि त्यहाँ पुन: निर्वाचन भएको हो । भण्डारीले ३ पटक मत खसालेपछि अन्तिम मतपेटिकामा बडिलोशन (शरीरमा दल्ने औषधी) हालेर प्रदेश समानुपातिकतर्फको मतपेटिका जलाएका थिए ।