• १३ असोज २०८१, आइतबार

प्रदेशभरि शान्तिपूर्ण मतदान

blog

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, मङ्सिर ५ गते । कर्णाली प्रदेशका १० जिल्लामा सामान्य छिटपुट घटनाबाहेक समग्रमा निर्वाचनमा शान्तिपूर्ण मतदान भएको छ। आइतबार बिहान ४ बजेदेखि मतदान सुरु हुने भनिए पनि मतदाता ६ नबज्दै लाम लागेका थिए। 

मतदान सुरु भएलगत्तै प्रदेश राजधानी सुर्खेतमा चर्चित उम्मेदवारले सुरुमै मतदान गरेका थिए। सुर्खेतमा ६० प्रतिशत मत खसेको छ। प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले ६० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिनुभयो।  

छिन्चु समाचारदाताका अनुसार सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूणर्बहादुर खड्काले गुर्भाकोट नगरपालिका–८ स्थित सूर्यज्योति मावि मेहेलकुनाबाट मतदान गर्नुभयो। यस्तै पूर्वमन्त्री एवं कांग्रेस पूर्वकेन्द्रीय सदस्य तथा सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार हृदयराम थानीले वीरेन्द्रनगर नगरपालिकाको दीपमाला विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ । 

पूर्वमन्त्री एवं एमाले स्थायी सदस्य तथा सुर्खेत क्षेत्र नं. २ का प्रदेश सभा (क)का उम्मेदवार यामलाल कँडेलले वीरेन्द्रनगर नगरपालिका–४ स्थित भैरम मावि मतदान केन्द्रबाट मतदान गर्नुभयो। 

ज्येष्ठ उत्साही युवा निराश

सुर्खेत समाचारदाताका अनुसार यस पटकको मतदानमा केही मतदाता निराश भएको पाइएको छ। ज्येष्ठ नागरिक उत्साही छन् भने युवा निराश भएका छन्। ज्येष्ठ नागरिकले पहिलेको तुलनामा विकास भए पनि अझै धेरै विकासका लागि आफूहरू मतदान गर्न आएको प्रतिक्रिया दिएका छन्। युवाहरूले अब नयाँ र परिवर्तनको आशा गरेको जनाएका छन् । 

वीरेन्द्रनगर नगरपालिका–५ का ५४ वर्षीय डिल्लीप्रसाद आचार्यले आफूले मतदान दिएर जिम्मेवारी पूरा गरेकोले अब नेताहरूले विकास गरेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले अब जित्ने उम्मेदवारको अग्निपरीक्षा सुरु हुने बताउनुभयो। यसैगरी वीरेन्द्रनगर नगरपालिका–५ को नेरामावि चिसापानी मतदान केन्द्रमा मतदान गरेर फर्कनुभएकी ९२ वर्षीया मनरूपा मगरले आफूले इच्छाएको उम्मेदवारलाई मतदान गरेर आएको बताउनुभयो । उहाँले जित्नेले विकास गर्नुपर्ने सुझाव दिँदै जनतालाई सेवा सुविधा दिनुपर्ने माग गर्नुभयो । 

सुर्खेत क्षेत्र नं. २ का प्रदेश सभा (ख)का उम्मेदवार एवं एमाले स्थायी समिति सदस्य यामलाल कँडेलले अहिलेका मतदाता सचेत भएको बताउनुभयो। विगतको जस्तो उत्साह अहिले नदेखिएको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभयो। सुर्खेत क्षेत्र नं. २ का गठबन्धनतर्फ प्रतिनिधि सभा उम्मेदवार हृदयराम थानीले जनतामा उत्साह थपिएको बताउनुभयो । 

सिम्तामा स्थगित 

पूर्वीसुर्खेतको सिम्ता गाउँपालिका–६ को सिम्ता बहुमुखी क्याम्पस मतदान स्थलको (ख) मतदान केन्द्रमा मतदान स्थगित भएको छ। आइतबार दिउँसो साढे ३ बजेदेखि मतदान स्थगित गरिएको हो। निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. १ ले सूचना जारी गरी प्रतिनिधि सभातर्फको मतपत्र प्रदेश सभाको मतपेटिकामा खसालेपछि दलहरूबीच सहमति हुन नसक्दा स्थगित भएको जनाइएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सिम्ताको एउटा केन्द्रमा सामान्य हिसाबले मतदान स्थगित भए पनि बाँकी सबै स्थानमा शान्तिपूर्ण रूपमा भएको जानकारी दिनुभयो। 

सुर्खेत क्षेत्र नं. २ को प्रतिनिधि तथा प्रदेश सभाको मतगणना वीरेन्द्रनगर बजारस्थित सिटी हलमा गरिने भएको छ। सुर्खेत कारागारमा रहेका एक सय जना कैदीबन्दीमध्ये ९६ जनाले मतदान गरे। कारागारका मतदान अधिकृत विनोद आचार्यले कैदीबन्दीले कारागाराभित्रै मतदान गरेको बताउनुभयो । निर्वाचन आयोगले कारागारमा अस्थायी मतदान केन्द्र तोकेको थियो । कैदीबन्दीले प्रतिनिधि सभा समानुपातिकतर्र्फ मात्र मतदान गरेका थिए । जिल्ला समन्वय समितिमा पनि कर्मचारीले समानुपातिकतर्फ मतदान गरेका छन्। 

वीरेन्द्रनगर समाचारदाताका अनुसार सुर्खेतमा दुईवटा प्रतिनिधि सभा र चारवटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा दुई लाख ४३ हजार ६१४ मतदाता रहेका छन्। सुर्खेतमा १३९ वटा मतदान स्थल र २९३ मतदान केन्द्र रहेका छन् भने १२ प्रतिनिधि सभाका लागि ७४ जना र २४ प्रदेश सभाका लागि ११६ जना चुनावी मैदानमा छन् । कर्णालीमा कुल मतदाता १० लाख आठ हजार ४०३ जना रहेका छन् भने एक हजार ४७६ मतदान केन्द्र रहेका छन्।

हुम्ला समाचारदाताका अनुसार चारवटा मतदान केन्द्रमा वारिसमा मत खसाल्ने विषयमा केही बेर विवाद भए पनि बाँकी जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको हो। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले समग्रमा जिल्लाभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताउनुभयो। उहाँले चारवटा मतदान केन्द्रमा दुई पक्षबीच विवाद भएर केही समय मतदान स्थगित भए पनि पछि पुनः मतदान भएको जनाउनुभयो। बाँकी ५५ वटा मतदान केन्द्रमा भने शान्तिपूर्ण रूपमा मतदान भएको छ। 

हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार खार्पुनाथ गाउँपालिका–५ को मान्धारा मावि बकुण्डा मतदान केन्द्रमा वारिसमार्फत मतदान गर्ने कामको विषयलाई दुई पक्षबीच विवाद हुँदा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर गर्नु परेको बताउनुभयो। हवाई फायरपछि स्थिति नियन्त्रणमा आएपछि मतदान सञ्चालन भएको थियो। 

मतदान गर्न जाने क्रममा एकको मृत्यु

सर्केगार्ड गाउँपालिका–७ को रोडिकोट गाउँको कोट मावि मतदान केन्द्रमा मतदान कार्यका लागि जाँदै गर्नुभएका एक मतदाताको मृत्यु भएको छ। सो केन्द्रका मतदान अधिकृत राजेन्द्र स्याङ्कुले मतदान केन्द्रमा मत खसाल्न आउने क्रममा ६२ वर्षका मकवीर कार्कीको मृत्यु भएको बताउनुभयो। उहाँले कार्कीको मृत्यु हृदयाघातका कारण भएको हुन सक्ने बताउनुभयो। यसैगरी १२ जना कैदीबन्दीले पनि मतदान गरेका छन्। 

कालीकोटमा ५१ प्रतिशत मत खस्यो

कालीकोट समाचारदाताका अनुसार कालीकोटमा मतदान शान्तिपूर्ण सम्पन्न भएको छ। जिल्लाका १२४ वटा मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। जिल्लामा प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जिल्लाभरि खसेको मतका आधारमा ५१ प्रतिशत मत खसेको जानकारी दिनुभयो। 

जिल्लामा प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट उम्मेदवार कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नै गृह पालिका पचालझरना गाउँपालिका–९ को कालिका आधारभूत विद्यालयको कोटिला मतदान केन्द्रमा मतदान गरेर सुरुवात गर्नुभएको थियो। एमालेका उम्मेदवार नगीन्द्र शाहीले आफ्नो गृह नगर रास्कोट नगरपालिका–५ को बडिमालिका माध्यमिक विद्यालयबाट मतदान गर्नुभयो। कालीकोटका प्रहरी प्रमुख डीएसपी जयश्वर रिमालका अनुसार जिल्लाभरको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। 

डोल्पामा ६५ प्रतिशत 

डोल्पा समाचारदाताका अनुसार डोल्पामा ६५ प्रतिशत मत खसेको छ। जिल्लाका कुल मतदातामध्ये करिब १५ हजार आठ सय मत खसेको अनुमान छ। निर्वाचन अधिकृत दीपेन्द्रकुमार उपाध्यायका अनुसार ठूलीभेरी नगरपालिका–९ को दल्जी आधारभूत विद्यालय मतदान केन्द्रमा गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच आइतबार दिउँसो झडप भएको थियो। सो बखत स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड हवाई फायर गरेको थियो। आधा घण्टा स्थगित भएपछि सो केन्द्रमा पुनः मतदान गरिएको थियो। त्योबाहेक अन्य मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको थियो। माथिल्लो डोल्पामा २२ वटा मतदान केन्द्र रहेको र सोमबार हेलिकोप्टरबाट मतपेटिका ल्याइने निर्वाचन अधिकृत उपाध्यायले बताउनुभयो। 

तीन जना पक्राउ

मतदानमा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई पक्राउ गरेको छ। पार्टीको जिल्ला कमिटी सदस्य महेश बस्नेत र राकेश विक, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हरिबहादुर पुन पक्राउ परेका हुन्। प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले आठबिसकोट नगरपालिकाको वडा नं. ५, ११ र १३ मा रहेका मतदान केन्द्रमा मतपेटिका तोडफोड र मतपत्र च्यात्न खोजेपछि तीन जनालाई पक्राउ गरेको बताउनुभयो। 

किरियापुत्रीद्वारा मतदान 

आठबिसकोट नगरपालिकामा एक किरियापुत्रीले मतदान गर्नुभएको छ। वडा नं. ९ का कर्णबहादुर सिंहले घर नजिकै रहेको कालिका माध्यमिक विद्यालय सुन्दरपानीमा पुगेर मतदान गर्नुभएको हो। छ दिनअघि उहाँका बुबा कालु सिंहको मृत्यु भएको थियो। किरिया बसेका बेला अन्य व्यक्तिलाई छुन नहुने सामाजिक परम्परालाई तोड्दै सिंहले अन्य मतदातासँगै लाम लागेर मतदान गर्नुभएको हो। 

जाजरकोटमा ६३ प्रतिशत मत खस्यो

खलङ्गा समाचारदाताका अनुसार जाजरकोटमा ६३ प्रतिशत मत खसेको छ। एक प्रतिनिधि सभा र दुई प्रदेश सभा क्षेत्र रहेको जिल्लामा मतदान अवधिभर जिल्लामा कुनै झडप भएन। यहाँ पूर्वगृहमन्त्री शक्ति बस्नेतले भेरी नगरपालिका–१, पिपेको वागेश्वरी निमावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ। जिल्लामा एक लाख तीन हजार मतदाता छन्।

सल्यानमा ५३ प्रतिशत 

सल्यान समाचारदाताका अनुसार सल्यानमा ५३ प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा र प्रदेश सभातर्फको निर्वाचनमा ५३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले बताउनुभयो। सल्यानका ११७ मतदान स्थल र २०५ मतदान केन्द्रको अनुमानित ५३ प्रतिशत मत खसेको हो। पुरुष ४० हजार २१ र महिला ४४ हजार एक गरी कुल ८४ हजार २२ जनाले मत खसालेको जनाइएको छ। सल्यानमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेका छन्। जिल्लामा एक लाख ५७ हजार ७०१ मतदाता छन्। 

दैलेखमा ५५–६० प्रतिशत 

दैलेख र दुल्लु समाचारदाताका अनुसार जिल्लामा करिब ५५ देखि ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ। दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा क्षेत्र रहेको जिल्लामा पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत बलराम लम्साले जनाउनुभयो। जिल्लामा मतदाता एक लाख ५८ हजार ९५८ जना छन्।