• १३ असोज २०८१, आइतबार

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान ढिला

blog

तस्विर : राधाकृष्ण डुम्रे ।

राधाकृष्ण डुम्रे

वालिङ, मङ्सिर ४ गते । स्याङ्जाको चापाकोट नगरपालिका १० मा रहेको बोटेटार मावि मतदान केन्द्रमा विवादका कारण मतदान ढिला भएको छ। दलीय प्रतिनिधिको विषयमा विवाद बढेपछि मतदानमा ढिलाइ भएको हो । 

प्रतिनिधिहरूको सम्बन्धमा सहमतिको प्रयास जारी रहेको क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार दल तथा स्वतन्त्रका प्रतिनिधिहरू राख्ने विषयमा सहमति नजिक पुगेको र अब छिट्टै मतदान सुरु हुनेछ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन जिल्लाको एक सय ९९ मतदान स्थलभित्र ३ सय २० मतदान केन्द्रमा मतदान केन्द्रमध्ये चापाकोट १० को बोटेटार मतदान केन्द्र बाहेक अन्य ठाउँमा मतदान सुरु भएको छ । 

यस्तै, कारागारको एक अस्थायी मतदान केन्द्रमा पनि मतदान सुरु भएको छ । सबै मतदान केन्द्रमा सौहार्द रूपमा मतदान सुरु भएको स्याङ्जाका मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले जानकारी दिनुभयो । 

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको चुनावका लागि स्याङ्जामा दुई लाख ४४ हजार ८९ जना मतदाता रहेका छन् । २०७९ मसिंर ३ गते सम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले मतदान गर्न पाउनेछन् ।

स्याङ्जा क्षेत्र नं १ मा एक लाख २७ हजार चार सय ११ जना र क्षेत्र नं २ मा एक लाख १६ हजार छ सय ७८ जना मतदाता रहेका छन् । क्षेत्र नं १ (क) मा ६२ हजार पाँच सय ५७ जना र (ख) मा ६४ हजार ८ सय ५४ जना मतादाता रहेका छन् । त्यस्तै क्षेत्र नं २ (क) मा (५४) हजार एक सय ९१ र (ख) मा ६२ हजार चार सय ८७ जना मतदाता रहेका छन् । 

यता क्षेत्र नं. २ का १५० मतदान केन्द्रमा शान्त रूपमा तोकिएकै समयमा मतदान सुरु भएको क्षेत्र नं. २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले जानकारी दिनुभयो ।