• १३ साउन २०८१, आइतबार

मतदाताको विवेक नै मुलुकको भविष्य

blog

आज मङ्सिर ४ गते अर्थात् आमनेपाली मतदाताले आफ्नो भविष्य आफैँ रोज्ने सुनौलो दिन। प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि मतदान गर्न व्यग्र रूपमा प्रतीक्षा गरिरहेको यो सुनौलो दिन मतदाताले विवेक प्रयोग गर्ने महत्त्वपूर्ण दिनसमेत हो। लोकतन्त्र नागरिकले आफ्नो प्रतिनिधि आफैँ रोज्न पाउने उत्कृष्ट पद्धति हो तर यो सधैँ आउँदैन। पाँच वर्षमा एक पटक आउने दिन हो यो। नेपालीले गौरव गर्ने अति महत्त्वपूर्ण दिन हो भने मतदान गर्दाको समय जीवनकै महत्त्वपूर्ण अवसरमध्ये एक हो। आजको दिन आमनेपालीले लोकतन्त्रको सुदृढीकरण अनि मुलुक र जनताको सुखद भविष्यनिम्ति आफ्नो अमूल्य मतदान गर्ने महत्त्वपूर्ण समयसमेत हो। निर्वाचनमा सबल, सक्षम, जागरुक अनि समाज र राष्ट्रका निम्ति समर्पित कर्तव्यनिष्ठ उम्मेदवारलाई आफ्नो प्रतिनिधिका रूपमा जिताएर पठाउने अति महत्त्वपूर्ण दायित्व हो। आफ्ना विधायक आफैँ रोज्ने स्वर्णिम अवसरसमेत हो यो ।

आममतदाताले यो निर्वाचन निष्पक्ष, धाँधलीरहित तथा बिनाडर, धम्की, सहजतापूर्वक सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले निर्वाचन आयोगले सम्पूर्ण तयारी गरेको छ। राज्य र राज्यका सम्पूर्ण संयन्त्र आवश्यकताअनुरूप क्रियाशील यो निर्वाचनमा मतदाता मत प्रकट गर्न स्वतन्त्र छन्। डर, धाक, धम्की र त्रासको कुनै स्थान छैन। शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन सरकारद्वारा चारै सुरक्षा निकायका सुरक्षाकर्मी आवश्यकताअनुरूप परिचालित छन्। मतदान केन्द्रमा सुरक्षाको सम्पूर्ण व्यवस्था गरिएको छ। एक लाख १५ हजार म्यादी प्रहरी, झन्डै ८५ हजार नेपाली सेना, ७२ हजार नेपाल प्रहरी, ३५ हजार सशस्त्र प्रहरी बल तथा झन्डै दुई हजार राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन्।

निर्वाचनलाई सुरक्षित तथा भयरहित बनाउन सबै खालका यत्न गरिएको छ। नेपालका कुनै पनि स्थानमा ३० मिनेटभित्र नेपाली सेना स्थल तथा हवाई मार्गबाट पुग्न सक्ने व्यवस्था गरिएको छ। यसबाट सुरक्षा व्यवस्थाको प्रभावकारिता स्पष्ट हुन्छ। परिचालित सुरक्षकर्मीलाई आवश्यक सञ्चार उपकरणसहित हतियारसमेत उपलब्ध गराइएबाट उनीहरू भौतिक रूपले पूर्ण रूपमा सुसज्जित छन्। यसबाट आममतदातालाई निर्वाचनमा सुरक्षाको पर्याप्त प्रत्याभूति प्रदान गर्न उल्लेखनीय आड, भरोसा प्रदान गर्नेमा कुनै शङ्का छैन। मतदान केन्द्रको व्यवस्थापन प्रभावकारी बनाइएको छ। निर्वाचनका लागि दुई लाख ४६ हजारभन्दा बढी कर्मचारी खटिएका छन्।

एकै चरणमा देशभर सम्पन्न हुन लागेको आजको निर्वाचनका निम्ति झन्डै ११ हजार मतदान स्थल, २२ हजारभन्दा बढी मतदान केन्द्र, १४१ अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ। यो निर्वाचनमा करिब एक करोड ८० लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। आफू र आफ्ना सन्ततिको सुखद भविष्यका निम्ति आममतदाताले विवेकसम्मत ढङ्गले आफ्नो मताधिकार प्रयोग गर्ने आमअपेक्षा छ। आममतदातामा यो निर्वाचनमा मतदान गर्न स्वस्फूर्त रूपमा उत्साहित रहेको काठमाडौँबाहिर जाने व्यापक भीडले समेत देखाएको छ। शुक्रबार मात्र डेढ लाखभन्दा बढी यात्रु बाहिरिएको तथ्याङ्क छ। यो निर्वाचन राष्ट्रिय उत्सव नै भएको छ। निर्वाचनकै कारण काठमाडौंँबाट बाहिर जाने यात्रुको सङ्ख्यामा ४० प्रतिशत बढोत्तरी हुनुले यसलाई प्रमाणित गरेको छ। काठमाडाैँका विभिन्न नाका तथा बस बिसौनीमा मतदानका निम्ति उपत्यका छोड्नेको निकै भीड शनिबार अबेरसम्म देखिनु सामान्य भएको छ। उपत्यकाबाहिर जाने बसका लागि टिकट काट्ने तथा बस नै रिजर्भ गर्नेका सङ्ख्या पनि बढेको यातायात सम्बद्ध अधिकारीका भनाइले समेत आमजनतामा निर्वाचनप्रतिको उत्साहलाई प्रतिविम्बित गरेको अनुपम उदाहरणका रूपमा लिन सकिन्छ।

बढीभन्दा बढी मतदाताको सहभागिता लोकतन्त्रको मर्म हो। आजको मतदानमा मताधिकार भएका नेपालीको अत्यधिक सहभागिता अपेक्षित छ। सबै मतदाताले आफ्नो मताधिकार प्रयोग नगर्दा असक्षम प्रतिनिधि चुनिन सक्ने सम्भावनासमेत हुन्छ। यसर्थ देश र भावी सन्ततिका लागि सही उम्मेदवारलाई मतदान गर्नु मतदाताको पहिलो र महत्त्वपूर्ण दायित्व नै हो। राष्ट्रिय उत्सवका रूपमा मतदान कार्यलाई पवित्र बनाऊँ। मुलुकको लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्ने सुअवसरको उपयोग गराऔँ। आमनिर्वाचनको यो पावन अवसरमा सबै मतदातामा हार्दिक शुभकामना।