• १३ असोज २०८१, आइतबार

मतदान सामग्री बोकेर कर्मचारी मतदानस्थमा

blog

मतदान सामग्री लिएर मतदानस्थलतर्फ जाने तयारीमा कर्मचारी। तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे

तम्घास, मङ्सिर १ गते। मङसिर ४ गते हुने सङ्घीय र प्रदेशसभाको निर्वाचनका लागि मतदान सामग्रीसहित मतदान अधिकृतसहित कर्मचारी मतदानस्थलतर्फ लागेका छन्।

निर्वाचनका लागि तालिमपश्चात् कर्मचारीलाई मतदान सामग्रीसहित आवश्यक सम्पूर्ण सामग्री दिएर मतदान स्थलतर्फ पठाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामबहादुर कुँवरले जानकारी दिनुभयो।

 कर्मचारी मतदान स्थलमा पुगेर पहिलो चरणमा निर्वाचनलाई स्वच्छ, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि  सर्वपक्षीय बैठक आयोजना गर्ने, मुचुल्का तयार गर्ने, बुथ निर्माण गर्ने, उचित सुरक्षाको प्रबन्ध मिलाउनेलगायत कार्य हुनेछन्। 

एक अस्थायी मतदान केन्द्रसहित २७९ मतदान केन्द्र र १४२ मतदानस्थल रहेको निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो।

जसका लागि निर्वाचन क्षेत्र नम्बर एकमा १ हजार १९९, निर्वाचन क्षेत्र नम्बर २ मा एक हजार २७ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा कुल मतदाता सङ्ख्या दुई लाख २३ हजार ६१५ रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ। 

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्थालाई कडा बनाएको बताउनुभएको छ। जिल्लामा ३५ अति संवेदनशील, ६७ संवेदनशील र ४० मतदानस्थल सामान्य रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ।

जिल्लामा निर्वाचनका लागि  करिब तीन हजार सुरक्षाकर्मी परिचालन गरिएको र आवश्यक परेमा थप सुरक्षाको प्रबन्ध मिलाइएको प्रजिअ पौडेलको भनाइ छ।