• १३ साउन २०८१, आइतबार

क्रान्तिकारी माओवादीका सातजना प्रहरी नियन्त्रणमा

blog

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले प्रयोग गरेको गाडी । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक २९ गते । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनविरुद्ध गतिविधि गरेको आरोपमा सशस्त्र प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्रले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको जनाएको छ । 

त्यस्तै, रामगोपालपुर नगरपालिका–५ का विजय मण्डल, वडा नं. ७ का लक्ष्मण यादव, अनिल ठाकुर, वडा नं ८ का उपेन्द्र यादव, श्यामकुमार यादव तथा बलवा ७ का राजेश यादवलाई पनि पक्राउ गरेको सशस्त्रले जनाएको छ । 

उहाँहरुलाई निर्वाचन आचारसंहिताविपरीत गतिविधि गरेको आरोपमा बलवा नगरपालिका ७ बनौटास्थित सुरक्षा बेसका सशस्त्र नायब उपरीक्षक नरेन्द्रसिंह धामीको नेतृत्वमा रहेको गस्तीले मङ्गलबार नियन्त्रणमा लिइएको हो । 

सशस्त्रको जलसागरस्थित नेपाल नं ९ गण हेक्वा महोत्तरीका गणपति दीपेन्द्र गिरीका अनुसार केन्द्रीय सदस्य यादवको नेतृत्वमा ज १ च ११७१ नंको टाटासुमो गाडी चढेर बनौटा पुगेको समूहले ‘आसन्न संसदीय निर्वाचन बहिष्कार गरौँ’ भन्ने पर्चासहित माइकिङ गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेको केहीबेरमै सबैलाई जिल्ला प्रहरी महोत्तरीको जिम्मा लगाएको सशस्त्रले जनाएको छ ।