• २९ भदौ २०८१, शनिबार

जाडोमा शरीरको स्याहार

blog

काठमाडौँ, कात्तिक २९ गते । जाडोमा अधिकांशले विशेषतः अनुहारको मात्र स्याहार गर्ने गर्छन् तर यो समयमा पूरै शरीरको स्याहार गर्नुपर्छ। सौन्दर्यविद् लक्ष्मी महतका अनुसार हात, खुट्टा र अनुहारको मात्र नभएर जाडो मौसममा पूरै शरीरको विशेष ध्यान दिनुपर्छ। “नुहाएपछि पूरै शरीरमा ‘बडी लोसन’ अथवा मोस्चराइजर क्रिम लगाउनुपर्छ। जाडोमा घाम प्यारो हुन्छ। हामी धेरै समय घाममा बस्ने गर्छौं। घाममा बस्दा घामको किरणले हाम्रो छालालाई असर गरिरहेको हुन्छ। घाम ताप्न बस्नु पाँच मिनेटअघि हामीले ‘सन प्रोटेक्सन’ क्रिम प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो। 

उहाँले जाडोमा धेरै समय घाममा बसिने हुँदा ३० देखि ५० एसपी एफका सन प्रोटेक्सन क्रिम लगाउनुपर्ने सुझाव दिनुभयो। सम्भव भएसम्म प्रत्येक चार घण्टामा क्रिम 

लगाइरहनुपर्छ। घाममा बस्दा छालाको पनि स्याहार गर्नुपर्छ। घर बाहिर निस्कनुअघि मात्र अनुहारमा क्रिम लगाउने र शृङ्गार गर्ने हाम्रो अभ्यास छ। घरमा र अफिसमा बस्दा हामीले अनुहार र छालाको स्याहार गर्दैनौँ। घर र अफिसमा हुँदा पनि हामीले छालाको विशेष स्याहार गर्नुपर्छ,  सौन्दर्यविद् महत बताउनुहुन्छ। 

उहाँका अनुसार, भान्छामा खाना पकाइरहँदा भान्छाको तापक्रम बढी हुन्छ। हाम्रो छाला कोमल हुने भएकाले त्यसको तापक्रम र खारले हाम्रो छालालाई असर गर्छ। हाम्रो ध्यान जान नसकेको अर्को कुरा, घरमा अथवा अफिसको काममा हामी लामो समय कम्प्युटर, ल्यापटप र मोबाइलमा व्यस्त हुन्छौँ। यी विद्युतीय उपकरणबाट आउने प्रकाशले छालालाई असर गर्छ। त्यसकारण यी उपकरण प्रयोग गर्नु १५ मिनेट अगाडि शरीरमा बडी लोसन र सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ।

छाला रोग विशेषज्ञ डा. मेलिना अमात्यको भनाइअनुसार जाडो मौसम छालाका लागि अनुकूल छैन। उहाँ भन्नुहुन्छ, “यो समयमा बाहिरी वातावरण सुक्खा हुनाले छालामा सोझै असर गर्छ।” अझ सहरी क्षेत्रमा धुलो–धुवाँ तथा बाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा पनि छालामा प्रभाव पर्छ। त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ। उहाँका अनुसार विशेषगरी संवेदनशील छाला भएकालाई यस्तो समस्याले झनै सताउँछ। जाडोमा यस्ता छालासम्बन्धी समस्याबाट जोगिन विभिन्न उपाय अपनाउन सकिन्छ।

डा. अमात्यले जाडोमा छाला सुक्खा हुनेबित्तिकै धेरैजसोले जे पायो त्यही क्रिम दल्ने गर्छन् तर यस कार्यले समस्या समाधान हुनुको साटो झन् बढेर जान्छ भन्नुभयो। सबैको छाला एकै किसिमको नहुने हुनाले आफ्नो छालाअनुसारको क्रिम (मोइस्चराइजर) छनोट गर्नुपर्ने उहाँको सुझाव छ। यसैगरी हात धुँदा प्रयोग गर्ने साबुन पनि नरम खालको प्रयोग गर्नुपर्छ। जाडो महिनामा हातको छाला जोगाउन पन्जा लगाउनुपर्ने सुझाव दिँदै डा. अमात्यले विशेषगरी स्कुटर वा बाइक चालकले हातको छाला सुक्खा हुनबाट जोगाउन अनिवार्य रूपमा पन्जा लगाउन सुझाव दिनुभयो। उहाँ भन्नुहुन्छ, मनतातो पानीले नुहाउनुपर्छ। नुहाएपछि हल्का भिजेको शरीरमा नरिवलको तेल वा लोसन लगाउनुपर्छ। यसले पनि शरीरलाई सुक्खा हुनबाट बचाउँछ। कसैको निकै सुक्खा छाला छ भने नुहाउने पानीमा नुन राख्दा पनि छाला सुक्खा हुन पाउँदैन।

अर्की सौन्दर्यविद् ओमिसा मुल्मीले जाडो महिनामा तातो पानीले नुहाउँदा पनि सावधानी अपनाउनुपर्ने बताउनुहुन्छ। “चिसो मौसममा प्रायःले तातोपानीले नुहाउने गर्छन् तर तातोपानीले नुहाउँदा शरीरमा सुक्खापन देखिने गर्छ। चिसोमा उसै त हाम्रो शरीरकाे छाला सुक्खा देखिन्छ। झन् तातोपानीले नुहाउँदा छालामा अझ बढी सुक्खापन देखिन्छ। आगोमा तताएको पानीभन्दा पनि घाममा तताएको पानीले नुहाउँदा छालामा सुक्खापन त्यति नदेखिने सामान्यतः नुहाउन हामीले साबुन प्रयोग गर्ने गर्छौं। साबुनले छालालाई सुक्खा बनाउँछ। चिसो मौसममा शरीरका लागि साबुनभन्दा बाथिङ सोप राम्रो हुन्छ। यसले छालालाई मुलायम बनाउँछ। सुक्खापनबाट जोगाउँछ, उहाँ भन्नुहुन्छ।

छाला रोग विशेषज्ञ डा. रूपक घिमिरेका अनुसार, यो मौसममा वातावरण चिसो हुने भएकाले विशेष गरेर छालामा धेरै समस्या देखिन्छन्। दीर्घकालीन रोगहरू, जस्तैः दाद, चिलाउने, लुतो (स्क्याबिज, सोयासिस, विन्टर एक्जिमा) यसै मौसममा देखिन्छन्। घाममा धेरै समय बस्दा अनुहारमा चायाँ, पोतो, आँखामा चाउरी (रिङ्कल), हात र निधारमा सनप्यान जस्ता समस्या आउँछन्। यी समस्या समाधानका लागि प्रशस्त पानी र झोलिलो पदार्थ पिउन, ड्राइ सामग्रीको कम प्रयोग गर्न उहाँको सुझाव छ।