• १२ असोज २०८१, शनिबार

देश निर्माणका लागि सुदृढ शक्ति चाहिन्छ : अध्यक्ष ओली

blog

मुना हमाल

सुर्खेत, कात्तिक २७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणका लागि सुदृढ राष्ट्रिय शक्ति चाहिएको बताउनुभएको छ । आइतबार बिरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले देश बनाउन देशभक्ति, राष्ट्रवादी सुदृढ राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘जसले देशको रक्षा गर्न सक्छ । स्थायित्व दिन सक्छ । भ्रष्टाचार नियन्त्रण गर्न सक्छ । विकास निर्माणलाई अघि बढाउन सक्छ, सोही दललाई मतदान गर्नुहोस् ।’ त्यो शक्ति एमाले भएको उहाँको भनाइ छ । एमालेका लागि जनताको समस्या समाधान गर्नु नै मुख्य एजेन्डा भएको उहाँले बताउनुभयो ।

आगामी निर्वाचन मङ्सिर ४ पछिको राष्ट्रिय शक्ति एमाले हुने उहाँले दाबी गर्नुभयो । आगामी निर्वाचन केवल निर्वाचन मात्र नभएर देशको भाग्य र भविष्यको फैसला गर्ने कदम भएकाले सुझबुझसाथ एमालेलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो । 

एमालेलाई कमजोर बनाउन देशी विदेशी शक्ति लागिपरेको टिप्पणी गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले थप्नुभयो, “एमालेलाई घेराबन्दी गर्नेलाई मङ्सिर ४ गते जनताले जवाफ दिनुपर्छ ।” गठबन्धन दलले देशको आर्थिक समृद्धि कायम गर्न नसक्ने भन्नुहुँदै अध्यक्ष ओलीले एमालेको नेतृत्वले मात्र देशमा समृद्धि कायम हुने दाबी गर्नुभयो ।

आफू मुलुकको दुई पटक प्रधानमन्त्री हुँदा देशको आर्थिक समृद्धिको जग हालेको भन्नुहुँदै अध्यक्ष ओलीले सो काम सम्पन्न गर्न पुनः एमालेले देशको नेतृत्व गर्न पाउनुपर्ने बताउनुभयो । आगामी निर्वाचनबाट बहुमतको सरकार एमालेले बनाउने अवसर पाएमा देशको समृद्धि कायम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।