• १२ असोज २०८१, शनिबार

मतदातालाई विगत सम्झाउनुहुँदै नेता नेम्वाङ

blog

इलामको फाकफोकथुममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, कात्तिक २५ गते । ‘२०५६ सालमा मैले चुनाव जित्दै गर्दा यो पश्चिमी क्षेत्रमा बिजुलीको एउटा बल्ब झुन्डिएको थिएन । एक लाइन टेलिफोन सेवा यो क्षेत्रमा थिएन । अहिले हेर्नुहोस् यो क्षेत्र कस्तो भएको छ’ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई विगत सम्झाउनु भयो ।  

यसअघि २०६४, २०७०, २०७४ का सबै निर्वाचनमा इलाम क्षेत्र नं –२ बाट प्रतिनिधिसभाका लागि निर्वाचित नेम्वाङ यतिबेला आउँदो निर्वाचनका लागि पनि मतदातासँग भोट माग्न घरदैलोमा व्यस्त हुनुहुन्छ । 

नेकपा एमालेका उपाध्यक्ष समेत रहनुभएका नेम्वाङले आफ्नो निर्वाचन क्षेत्रमा भएको विकासलाई पूर्णता दिन आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । ‘इलामको कर्णाली भनेर चिनिने क्षेत्र २ मा विकास देखेर डाह गर्नेहरू अहिले धेरै छन्’ उहाँले भन्नुभयो ।

मतदातालाई सम्बोधन गर्दै नेम्वाङले भन्नुभयो, ‘यसअघि तपाईँहरूले दिनुभएको जिम्मेवारीले देशको संविधान बनाउन हामी सफल भयौँ । संविधान कार्यान्वयनसँगै स्थानीय तह र स्थानीय तह मार्फत हुने विकास सेवा सुविधासहित पूर्वाधार विकासमा इलाम –२ मा अब कल्पना गर्न नसकिने विकास हुनेछ । त्यसको जिम्मा म लिन्छु ।’ 

शुक्रबार देउमाई नगरपालिकाको जीतपुरमा आयोजित मतदाता भेटघाटमा नेम्वाङले भेडेटार–रवि–राँके सडक निर्माणमा ठेकेदारले लापरबाही गरेको घटनामा आफू गम्भीर बनेको बताउनुभयो ।

इलाम क्षेत्र नं –२ बाट नेम्वाङ निर्वाचित भए यता सडक, बिजुली बत्ती, खानेपानी, सिँचाइ टेलिफोन, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै कामहरू भएको स्थानीयको पनि भनाइ छ । ‘अब यो क्षेत्रमा सुविधा सम्पन्न अस्पताल बनाउने प्रक्रियामा हामी अघि बढेका छौँ’ नेम्वाङले भन्नुभयो, ‘भरपर्दो स्वास्थ्य उपचारको पहुँचमा यहाँका नागरिकलाई सुविधा दिन्छौँ ।’  

यता, नेम्वाङका मुख्य प्रतिस्पर्धी मानिएका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस जिल्ला सभापति डम्बरबहादुर खड्का पनि चुनावी अभियानमा क्षेत्र २ मा व्यस्त हुनुहुन्छ । २०७४ को निर्वाचनमा इलाम क्षेत्र २ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका रामबहादुर रानासँग पराजित भएका खड्का पनि आफ्नो जित पक्का गराउन घरदैलो अभियानमा रहनुभएको छ । 

इलाम क्षेत्र–२ मा नेम्वाङ सँग गठबन्धनका खड्का मात्र होइन, नेपाली कांग्रेस पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिनुभएका जुनु माखिम, नेपाली कांग्रेस (बिपी) का डाकप्रसाद गौतम,  राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुङ्वा, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर लगायत १४ जना चुनावी मैदानमा रहनु भएको छ ।