• १९ असोज २०८१, शनिबार

सुरक्षा प्रबन्ध गर्न आयोगद्वारा पत्राचार

blog

काठमाडौँ, कात्तिक २२ गते । निर्वाचन आयोगले पर्साको निर्वाचन क्षेत्र नं.४ का प्रतिनिधि सभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले जिल्लास्थित आचारसंहिता अनुगमन अधिकृतका रूपमा रहेका प्रमुख कोष नियन्त्रक रुद्रबहादुर कार्कीलाई धम्की दिएकाले आवश्यक सुरक्षा प्रबन्ध गर्न जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्र पठाएको छ।

आयोगले पठाएको सो पत्रमा रिजालले कार्कीलाई फोनमार्फत धम्की दिएको तथा गालीगलौज गरेको भन्ने लिखित उजुरी प्राप्त भएकाले कार्कीको आवश्यक सुरक्षा प्रबन्ध तत्काल मिलाई उम्मेदवार रिजालका आचारसंहिताविपरीतका गतिविधिउपर आवश्यक निगरानी गरी आयोगमा प्रतिवेदन पेस गर्न भनिएको छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१)को खण्ड (घ)अनुसार निर्वाचनमा संलग्न कर्मचारीलाई धाक, धम्की वा डर, त्रास देखाउन हुँदैन।

 सोही ऐनको उपदफा (४)मा त्यस्तो कसुर गर्ने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। आयोगले ती व्यवस्थाका साथै निर्वाचन आचारसंहिता, २०७९ को दफा (४)को खण्ड (ढ)मा निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठानमा प्रतिकूल असर पर्ने गरी कुने अवाञ्छित लाञ्छना लगाउन नहुने व्यवस्थाबारे स्मरण गराएको छ।