• १९ असोज २०८१, शनिबार

भक्तपुरमा मतदाता शिक्षा सञ्चालन

blog

भक्तपुर, कात्तिक २२ गते । भक्तपुरमा मतदाता शिक्षा सञ्चालक समितिले टोल–टोलमा पुगेर मतदाता शिक्षा सञ्चालन गर्न थालेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको मतदाता शिक्षाका सामग्री पर्चा, पम्प्लेट र नमुना मतपत्र लिएर समिति टोल र घर–घरमा पुग्न थालेका हुन्। 

कात्तिक १७ गतेदेखि नै भक्तपुरमा मतदाता शिक्षा सुरु भएको र अहिले मतदाताले उत्साहका साथ मतदाता शिक्षा लिइएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ। 

वडा तहमा वडा सचिव संयोजक रहेको मतदाता शिक्षा सञ्चालक समिति निर्माण गरिएको छ। उक्त समितिमा मतदाता शिक्षा समन्वय समितिले तोकिएको महिला स्वास्थ्य स्वयंसेविका सदस्य र वडा सचिवले तोकिएको सहायकस्तरका कर्मचारी सदस्य सचिव रहने व्यवस्था छ।

त्यस्तै स्थानीय तहमा मतदाता शिक्षा समन्वय समिति निर्माण गरिएको छ। उक्त समितिमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संयोजक, स्थानीय तहको सामाजिक विकास हेर्ने अधिकृत सदस्य, स्वास्थ्य शाखा प्रमुख र सम्बन्धित स्थानीय तहको निर्वाचन सम्पर्क व्यक्ति सदस्य सचिव रहने व्यवस्था भएअनुसार उक्त समितिले सक्रिय रूपमा काम गरिरहेका जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भीमबहादुर बीसीले जानकारी दिनुभयो। 

उहाँका अनुसार अहिलेसम्म भक्तपुरका चारवटै पालिकामा नमुना मतदान सम्पन्न भएको, २४ गतेसम्म सहायक मतदान अधिकृत र मतदान अधिकृतलाई तालिम प्रदान गरिसकिनेछ । यही मङ्सिर २५ गते भित्र सहायक निर्वाचन अधिकृतलाई मतदान सामग्री प्रदान गरिने कार्यक्रम रहेको छ। 

भक्तपुरमा निर्वाचन क्षेत्र नं. १ र २ गरि दुईवटा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन क्षेत्र नं. १ मा एक लाख दुई हजार ५२८ जना मतदाता र ११५ वटा मतदान केन्द्र तोकिएको छ। 

त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा ९१ हजार ९११ मतदाता रहेका छन्। आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि यस क्षेत्रमा १०७ वटा मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय जनाएको छ।