• ९ मंसिर २०८१, आइतबार

आत्मसमीक्षा र दृढसङ्कल्प

blog

नेपाल बन्ने/नबन्ने अनेकौँ कारण छन्। बन्ने कारण आत्मसात् गरी नबन्ने कारण त्याग्दै जानु समयलाई पछ्याउनु हो। समयको लयसँग हिँड्न जानियो भने गन्तव्य असहज छैन । आधुनिक विश्वमा समृद्धि,विकास र आधुनिकता एकअर्काका पर्याय हुन् । विकास, समृद्धि र आधुनिकता एकाएक रातारात भित्रिँदैन/मिल्दैन, त्यसका लागि दूरगामी दृष्टि, अनुशासन, लगाव, मेहनत र देशभक्तिको अठोट जरुरी हुन्छ । विकासका प्रशस्त सम्भावना र प्राकृतिक रूपमा वैभवशाली मुलुक थुप्रै आधार भएर पनि नेपाल र नेपालीले सदुपयोग गर्न नजानेर नै आजको स्थिति उत्पन्न भएको हो । सर्वप्रथम प्राथमिकता निर्धारण गर्नु आवश्यक हुन्छ । 

प्राथमिकता निर्धारणपछि समयावधि अर्को उल्लेख्य पक्ष हो। अनुशासन, पारदर्शिता, मेहनत, नेतृत्व क्षमता आदि तत्वका आधारमा समृद्धिको खाका कोरियो भने सायद पछाडि फर्कने स्थिति आउँदैन । कुनै पनि सिद्धान्त आफैँमा साध्य होइन, साधन मात्र भएको यथार्थ बुझियो भने सिद्धान्त र वादमा अल्झिरहनु पर्दैन । हाम्रो प्रमुख आवश्यकता र सिद्धान्त हो नेपालवाद । हामीलाई आफ्नो आवश्यकता र औचित्यले डो¥याउनुपर्छ । जबरजस्ती लादिएका र बोकाइएका सिद्धान्तका भारीले हामी थिचिएका छौँ । नेपालवादको खाका कोरेर गन्तव्य तय गरियो भने नपुग्ने कुनै ठाउँ छैन । हाम्रो खाँचो हो– भिजनरी नेतृत्व, सङ्कल्प, अठोट र दृढता । व्यक्ति–व्यक्ति इमानदार हुँदा सिस्टम प्रभावकारी र चलायमान बन्छ ।  आमनेपालीको पहिलो र आधारभूत तथ्य भनेको प्राथमिकता निर्धारण गर्न चुक्नु हो ।

 कुनै पनि कुराको तत्काल आवश्यकता र औचित्यको आधार खोजेर दीर्घकालीन लक्ष्यसहितको गन्तव्य निर्धारण गर्नु र सो प्राप्त गर्न तन्मयका साथ लाग्नु नै विकास प्रारम्भका सफल सूचक हुन् । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन दृष्टिबोध गरेर, लक्षित वर्ग र समुदायको हित हेरेर तिनका हकअधिकार, विकास निर्माण, कर्तव्य र भूमिका सबल र सशक्त बनाउनुपर्छ । गरिबीको रेखामुनि रहेका सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र उपेक्षित समुदायलाई मेनस्ट्रिममा समाहित गराउन राज्यले अहम् भूमिका निर्वाह गरेर यथोचित जनपरिचालन गर्दा देश बलियो बन्दै जान्छ। विकास र समुन्नतिको पथमा यात्रारत हुन्छ। 

नागरिकका आधारभूत आवश्यकता भनेको गाँस, बास र कपास हुन् अर्थात् छाना, नाना र खाना पहिलो सर्त हो। स्वतन्त्रता, स्वास्थ्य, शिक्षा, सुरक्षा, रोजगार र पहिचान, आत्मसम्मान, मर्यादा, विकास, समृद्धि क्रमशः आउँछन्। गरिबी, अशिक्षा, अन्धविश्वास, आलस्य, अलमल, ढिलासुस्ती र अराजकता चिर्न निम्न बुँदा र तथ्यलाई टेकेर जानु श्रेयस्कर देखिन्छ। यी तथ्य अध्ययन, अनुसन्धान, नीति निर्माण तहमा काम गरेका विद्वत् वर्ग र केही निजी अनुभवका आधारमा भनिएका छन्।

समय व्यवस्थापन र अनुशासन

आमनेपालीलाई प्रशस्त समय छ। समयको सदुपयोगबिना कुनै व्यक्ति, समुदाय, समाज र राष्ट्रले उन्नति गर्न सक्दैन। नेपालीमा पनि समयको ख्याल राख्ने, समयमा कार्यक्रम गर्ने, समयमा सक्ने अभ्यास र बानी छैन। समयभन्दा अमूल्य चिज संसारमा केही छैन भन्ने बुझ्न सकियो भने समयलाई सहज व्यवस्थापन गरेर व्यक्ति र राष्ट्रको जिन्दगी सरल र सहज बनाउन सकिन्छ। नेपालीसँग समयलाई महìव दिने संस्कार र सभ्यताको अभाव देखिन्छ; जुन दुर्गतिको कारण हो। 

सबै किसिमका अराजकताको अचुक औषधि हो– अनुशासन। अनुशासन विधिको पालन र विधानको मर्यादाभित्र बस्ने सुन्दर अभ्यास हो। बिग्रनबाट बचाउने र बिग्रेको सुध्रने कुनै तìव र मार्ग छ भने त्यो अनुशासन हो। समय व्यवस्थापन र अनुशासनलाई पर्यायको अर्थमा बुझ्न सकिन्छ। विश्वका विकसित समाज समयलाई महìव दिने हुनाले आज सो स्थानमा पुग्न सकेका छन्। समय धन हो भनेर चिन्ने र चिनाउने संस्कारको थालनी हाम्रा लागि अपरिहार्य छ। 

सही समयमा सही निर्णय

कुनै पनि निर्णय सही समयमा सही तवरले गर्न सकियो भने सफलताको प्रथम सूत्र नै बन्न सक्छ। निर्णयमा विलम्ब, ढिलासुस्ती र अनावश्यक दबाब तथा प्रभावबाट गरिने निर्णयले उचित मार्ग पक्रन सक्तैन। अतः समय र परिस्थिति हेरेर कहिले लचक र कहिले कठोर दुवै बन्ने ल्याकत राख्नुपर्छ। समयलाई आफ्नो वशमा पार्न सकिन्न तर समयको समुचित व्यवस्थापन गरेर लक्ष्य भेदन गर्न सकिन्छ। 

बुद्धिजीवीको भूमिका

विश्वमा जहाँ जहाँ विकास, सभ्यता र उन्नतिको ढोका खुलेको छ, त्यहाँ बुद्धिजीवी वर्गको तटस्थता, निर्भीक राष्ट्रप्रेम र नेतृत्वलाई गर्ने खबरदारी उच्च नैतिकता र आदर्शले ओतप्रोत भएको पाइन्छ । योग्यता र क्षमताअनुसारको जिम्मेवारी दिने ‘राइट म्यान राइट प्लेस’लाई अधिकतम उपयोग गर्ने नीतिले सामाजिक व्यवस्थामा निष्पक्षता र तटस्थ बस्ने र बन्ने प्रक्रियाको थालनी गर्छ। जहाँ भेदभाव र आग्रह पूर्वाग्रह हुन्न, त्यो समाज सभ्य र समुन्नत बन्छ। 

दण्ड र पुरस्कारलाई पनि त्यतिकै प्रश्रय दिने समाजमा बौद्धिक वर्गको महìव र गरिमा उच्च रहन्छ। बौद्धिक वर्ग पेट पाल्न कसैको भाट र चाकर बन्नु पर्दैन। विवेक प्रयोग गर्ने बौद्धिक वर्ग भएको समाजमा अन्याय, अत्याचार र बेथितिको गुञ्जायस रहन्न। सरकारसँग स्वार्थको लेनदेन गरेर लोयल हुने बौद्धिक जमात नेपालको पनि समस्या हुनसक्छ ? सत्य भनिदिने जैविक बौद्धिक र थिङ्क ट्याङ्कको अभावमा देश रुमलिएको छ। अतः अर्गानिक बौद्धिक आजको खाँचो हो। बौद्धिक वर्गको एउटा मात्र ध्याउन्न राष्ट्रको समुन्नतिमा कसरी योगदान गर्न सकिन्छ भन्ने बन्नुपर्छ। 

सस्तो लोकप्रियता होइन, लोकहित

सस्तो लोकप्रियताको आयु छोटो र क्षणिक रहन्छ। तसर्थ दीर्घकालीन उद्देश्यसहितको प्रयोजनपरक लक्ष्य लोकहितको खातिर हुनुपर्छ। सामाजिक हितभन्दा पर व्यक्ति र सानो समुदायको स्वार्थका लागि, छिटो लोकप्रिय बन्ने बाटो सहज हुन्छ तर त्यसले लक्ष्यभेदन गर्न सक्तैन। बाटो दुरुह होस् तर लक्ष्य भेदन गर्ने होस्, यो नै दीर्घकालीन विकासको सुगम मार्ग र यात्रा हो। भिडको बलमा गरिने जुनसुकै निर्णय र फैसलाले विवेकको प्रतिनिधित्व गर्ने सम्भावना क्षीण हुन्छ। भीड होइन, विवेकको प्रयोगमा राजनीतिक दल सरकार र सम्बद्ध सबैको ध्यान पुग्नुपर्छ।

सिंहावलोकन

कामलाई पछिल्तिर फर्केर हेर्दै बीच–बीचमा लगाइने दृष्टि, समीक्षा र समालोचना, खण्डन, मण्डन सिंहावलोकन हो; जुन आममान्छे र आमप्रणालीलाई जरुरी हुन्छ ता कि त्रुटि हुँदा करेक्सन गर्न सकियोस् । समीक्षा गर्ने बानीले कमजोरी पत्ता लाग्छ। कमजोरी छोपेर होइन, कमजोरी सच्याएर जाने परिपाटी आजको सभ्यता हो। कमजोरी ढाकछोप गरेर निम्तिने अवश्यम्भावी दुर्घटना टार्न प्रारम्भमै सतर्कतासहितको कमजोरी स्वीकार गरेर अघि बढ्ने अभ्यास गर्नु उचित हुन्छ। कतिपय प्रणालीगत समस्या र अवस्थामा त्यसको विस्थापन, विघटन र विनियोजनका लागि रिथिङ्क र रिभिजिट अनिवार्य तत्व मानिन्छ। 

प्रतिनिधित्वको सवाल

विश्व बैङ्कले भनेझैँ “गरिबी अपर्याप्त आम्दानी वा मानव विकासमा मात्रै कमजोर हुनु होइन, यो आवाजहीन शक्तिहीन र प्रतिनिधित्वहीनको अवस्था पनि हो।” जब राज्यका सबै निकायमा एकल वर्चस्व, प्रभाव र हस्तक्षेप रहन्छ, तब त्यहाँ गरिबी, अशिक्षा, बेरोजगारी, विभेद र अन्याय–अत्याचार नमज्जासँग मौलाएको हुन्छ। राज्य एकपक्षीय हुन्छ। त्यस्तो अवस्थामा गरिबी प्रतिनिधित्वहीन, आवाजहीन र सामथ्र्यहीन अवस्थाका रूपमा झन् विकराल भएर देखिन्छ। त्यसैले राज्यमा रहेका सबै जातजाति, वर्ग, समुदाय, क्षेत्र, भूगोल र लिङ्गको समान प्रतिनिधित्व राज्यका हर निकायमा हुनुपर्छ। 

राज्यमा बस्नेलाई यो राज्य मेरो पनि हो, राज्यप्रति मेरो पनि भूमिका र कर्तव्य छन् भन्ने भावनाको विकास हुनुपर्छ। अपनत्व, ममत्व र कर्तव्यबोधलाई सम्बोधन गरिने नीति र कार्यक्रमले सीमान्तकृत वर्ग, समुदाय, दलित, महिला, मधेशी, मुस्लिम, अल्पसङ्ख्यकलगायत सबैलाई समता र मर्यादाको प्रत्याभूति हुनुपर्छ। अमेरिकालगायत विकसित मुलुकमा किनाराकृत समुदायलाई प्राथमिकताको सूचीमा राखिन्छ। नीति निर्माण गर्दा पहँुचविहीनलाई पहुँच दिलाउनु मुख्य कार्यभारका रूपमा ग्रहण गरिन्छ। गुनासो र प्रश्नलाई पहिले सम्बोधन गरिन्छ। प्राथमिकता निर्धारण गर्न चुकिएन भने लक्ष्य भेट्न मुस्किल पर्दैन। हाम्रो मूल समस्या प्राथमिकता तय गर्न चुक्नु पनि हो। 

सकारात्मक सोच र शैली

आममान्छेमा व्याप्त नेगेटिभिटीलाई मात्रै न्यून गर्न सकियो भने आशाको सञ्चार जगाएर सकारात्मकताको किरण फैलाउन सकिन्छ। सकारात्मक सोच, शैली, चिन्तन र विश्वास नै प्रगतिका प्रस्थानबिन्दु हुन्। यो भएन, त्यो भएन भनेर गुनासो गर्न छोडेर आ–आफ्नो तवरबाट जे सकिन्छ राम्रो गरौँ, जति सकिन्छ असल गरौँ भन्ने उत्कट भावना प्रवृत्त व्यवहारले समाज परिवर्तनको मार्ग प्रशस्त गर्छ। समाजलाई गति दिन र राष्ट्रलाई जीवन्तता प्रदान गर्न सकारात्मकताको प्रचारप्रसार आवश्यक हुन्छ। जुन संस्कारको हामीसँग अभाव छ। प्रचलित उखानझैँ सत्यले जुत्ता लगाएर निस्कँदा असत्य नौ डाँडापारि पुगिसकेको हुन्छ। हामी सकारात्मक प्रचार ढिलो गर्छौं।  हरेक देशका आआफ्ना प्रणाली, राज्य व्यवस्था सञ्चालनका पद्धति र विधि हुन्छन्। तिनीहरू कहिल्यै, कुनै सर्त र तर्कसँग सम्झौता गर्न लायक हुँदैनन्। विश्वमा कुनै पनि व्यवस्था त्रुटिरहित र समस्यारहित हुँदैनन्। 

त्यसैले अनेकन विकल्प र प्रयोगको प्रयोगशाला बन्नुभन्दा अवलम्बन गरिएको व्यवस्था नीति, विधि र पद्धतिलाई स्वीकार गर्दै त्रुटि, कमजोरी र समस्यालाई विधिवत् नीतिसम्मत सामाधन गर्दै अगाडि बढ्नु नै बुद्धिमानी हुनेछ। आत्मसमीक्षा, समालोचना र आत्मनिर्णय नै सभ्यता र सम्मानका प्रतिविम्ब हुन्। प्रगतिका अभिलक्षण हुन्। नेपाल बन्छ। नेपाल बन्ने यथेष्ट कारण, सुयोग्य तर्क, यथार्थ धरातल र पूर्वाधार प्रशस्त छन्। खाँचो आत्मसमीक्षा र दूरगामी अभ्यासको छ। जसलाई हामीले अवलम्बन गर्दै जीवनशैली बनाउनुपर्ने छ।