अमरराज नहर्की
तनहुँ, साउन २४ गते । तनहुँका दलित समुदायले सामूहिक रक्षाबन्धन गर्नुका साथै जनै धारण गरेका छन् ।
वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजको आयोजनामा शनिबार जनैपूर्णिमाको दिन व्यास नगरपालिका–३, देउरालीनगर, दमौलीमा गरिएको कार्यक्रममा सामूहिक रक्षाबन्धन गर्नुका साथै जनै धारणा गरेका हुन् ।
जातीय विभेद छिचोल्न वैदिक विधिअनुसार रुद्री पाठ र ऋषितर्पणी पाठगरी जनै धारणसहित सामूहिक रक्षाबन्धन गरिएको वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाजका अध्यक्ष पण्डित तिलक विश्वकर्मा बताउनुहुन्छ ।
समाजमा जातीय विभेद कायम रहेकाले त्यसको अन्त्यका लागि सहयोग पुर्याउन आफ्नै पुरोहितबाट सामूहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको समाजका सचिव विश्वबुढा परियारले जानकारी दिनुभयो ।
रक्षा बन्धन कार्यमा पूर्ण विश्वकर्मा घिमिरे, तिलक विश्वकर्मा, अर्जुन सुनार, विश्वबुढा परियार, काजी परियार, माधवबहादुर विश्वकर्मा र सूर्यबहादुर परियार र गणेशमान दुलाल लगायतका दलित समुदायका पुरोहितहरू खटिईरहनु भएको छ ।
समाजद्वारा व्यास नगरपालिका–३, अनसन चौतारीमा खुला रक्षाबन्धन कार्यक्रम गरिएको छ । कार्यक्रम दलित पुरोहितले सयौं सर्वसाधरणलाई रक्षा बन्धन गराएका छन् ।
वेदव्यास वैदिक सनातन धर्मशास्त्र अनुसन्धान प्रतिष्ठान तनहुँ अध्यक्ष ध्यानाचार्य खेमराज अधिकारीले वेदले जातिय विभेद नगरिएकोले यस्ता कर्मले धर्मको रक्षा गर्ने बताउनुभयो । उहाँले कसैलाई विभेद नगरी वेदको सारको व्यवहारिक प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
साथै अधिकारीले दमौलीमा प्रतिष्ठानको आयोजनामा गरिएको अखण्ड महाकोटी होममा सबै जातिलाई सहभागी गराई जातीय विभेद नगररिएको स्पष्ट पार्नुभयो ।