• २४ साउन २०८२, शनिबार

भैँसी पालनबाट आत्मनिर्भर खिमा

blog

भैँसीलाई कुँडो खुवाउँदै कृषक खिमा । तस्बिर : सलिम मियाँ

सलिम मियाँ

बिजुवार, साउन २१ गते । प्युठान नगरपालिका–७, टिकुरीकी ३४ वर्षीया खिमा केसीको बिहान गोठमै सुरु हुन्छ । 

भैँसीको स्याहार, दुध दुहुनेदेखि बजार पुर्‍याउने काम अहिले केवल पेसा होइन, जीवनशैलीकै रूपमा स्थापित भएको छ ।

तीन वर्षअघि कपिलवस्तुबाट तीन वटा भैँसी किनेर सुरु गरिएको पशुपालन व्यवसाय अहिले ‘प्रगति कृषि तथा पशुपक्षी फार्म’ को नामले परिचित भएको छ । हाल उहाँसँग १० वटा हरियाना जातका मुर्रा भैँसी छन्, जसमध्ये चार दुहुना छन् । तीबाट दैनिक ५५–६० लिटर दुध उत्पादन हुने गरेको छ ।

‘दैनिक ५० लिटर दुध बिक्री गर्छु,’ खिमाले भन्नुभयो, ‘डेरीलाई प्रतिलिटर ८० र घरमै ग्राहकलाई एक सय रुपियाँमा बिक्री हुन्छ ।’

उक्त व्यवसायबाट खिमा मासिक झण्डै ५० हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ । गोठ निर्माण र भैँसी खरिदमा सुरुमा सात लाख रुपियाँ लगानी गरेकी उहाँले हालसम्म करिब १५ लाख रुपियाँ लगानी गरिसक्नुभएको छ ।

‘श्रीमान् ट्राफिक प्रहरीको हवलदार हुनुहुन्छ । उहाँको मात्रै तलबले घर खर्च चलाउन गाह्रो हुन्थ्यो,’ खिमाले भन्नुभयो, ‘भैँसी पालनपछि आम्दानी मात्र होइन, आत्मविश्वास पनि बढेको छ ।’

चार रोपनी जग्गामा हरियो घाँस उत्पादन गर्दै आउनुभएकी उहाँले सुख्खा समयमा भने कपिलवस्तु लगायतका क्षेत्रबाट पराल र गहुँको भूसा खरिद गरेर व्यवस्थापन गर्नुहुन्छ ।

कक्षा १२ अध्ययन गर्नुभएकी खिमाका दुई छोरा र एक छोरी छन् । ‘श्रीमान्, सासूआमा र भाइबहिनीको सहयोगले यो सम्भव भएको हो,’ खिमाले भन्नुभयो, ‘श्रीमान् अवकाश पाउँदा व्यवसाय थप विस्तार गर्ने योजना छ ।’

प्युठान नगरपालिकाको पशु विकास शाखाबाट प्राविधिक सल्लाह लिँदै आउनुभएकी खिमा हाल झिमरुक पशुपक्षी तथा मत्स्य सहकारीमार्फत बाग्दुलामा दुध बिक्री गर्दै आउनुभएको छ । ‘दुधमा अनुदान पाइन्छ भनेर सहकारीमार्फतै बिक्री गर्न थालेकी हुँ,’ उहाँले बताउनुभयो । 

उहाले घरमै दुध प्लास्टिक प्याकिङ गरी ग्राहकसम्म पुर्‍याउने अभ्याससमेत गर्न थाल्नुभएको छ । स्थानीय कृषक खिमा स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् ।