• १२ असोज २०८१, शनिबार

घन्काउन थालियो ‘डीजे’

blog

गाईघाट समाचारदाता

गाईघाट, कात्तिक १९ गते । दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको उदयपुर जिल्लामा मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले प्रचारप्रसार तीव्र पारेका छन्।

प्रतिनिधि सभा क्षेत्र नं. १ मा वर्तमान सरकारका परराष्ट्रमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्का, नेकपा (एमाले)का मञ्जुकुमारी चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवकुमार रायमाझी र लोकतान्त्रिक समाजवादी पार्टीका खुसीलाल ठाकुरबीच कडा प्रतिस्पर्धा हुनेजस्तो गरी चुनावी माहोल देखिएको छ। 

निर्वाचन आयोगले तोकेको समयसीमाभित्र आममतदाताको घरदैलोमा पुग्न उम्मेदवारहरूलाई भ्याइनभ्याइ छ। पहिलो चरणको घरदैलो कार्यक्रम सकेर दोस्रो चरणको प्रचारप्रसार अभियान थालेका राजनीतिक दलका उम्मेदवारहरूले आआफ्ना दलका चुनावी गीतका ‘डीजे’हरू बजाउँदै टोलटोलमा कोणसभा गरी जनतासँग भोट माग्न थालेपछि शुक्रबारबाट एकाएक उदयपुरमा चुनावी सरगर्मी बढेको हो।

वर्तमान सत्ता साझेदार लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट क्षेत्र नं. १ मा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमन्त्री डा. नारायण खड्काले यो निर्वाचन संविधानको रक्षा, मुलुकको स्वाधीनता बचाएर जनताका समस्या समाधान गर्दै अगाडि बढ्ने शक्ति र संविधानविरोधी तत्वहरूका बीच हुन लागेको बताउनुभयो।

उदयपुरको त्रियुगा नगरपालिका–८ स्थित झोराटोलमा आयोजित कोणसभामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो। अब बन्ने नयाँ सरकार पनि गठबन्धनकै हुने निश्चित भएकाले आममतदातासँग लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिन उहाँले आग्रह गर्नुभयो।

यसैगरी क्षेत्र नं. २ मा नेकपा (एकीकृत समाजवादी)का जगन्नाथ खतिवडा, नेकपा (एमाले)का अम्बरबहादुर रायमाझी र स्वतन्त्र उम्मेदवार रामकुमार राईबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। नेपाली कांग्रेसका क्षेत्रीय सभापति रहनुभएका राईले लोकतान्त्रिक वाम गठबन्धनविरुद्ध स्वतन्त्र उम्मेदवार भएर मत मागिरहनुभएको छ भने अन्य उम्मेदवारले आआफ्ना दलीय नारा र घोषणापत्रका आधारमा घरदैलो गर्दै आएका छन्।

सो क्षेत्रमा नेमकिपाका पूर्णबहादुर बुढाथोकी, मङ्गोल नेसनल अर्गनाइजेसनका भास्कर राई, जसपाका सिद्धान्त राई, जनजागरण पार्टीका बिन्दा कटुवाल, राप्रपाका वंशीधर न्यौपाने, हाम्रो नेपाली पार्टीका लोकेन्द्रबहादुर कार्की, नेपाली कांग्रेस बीपीका केशवबहादुर पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अनिलकुमार श्रेष्ठ र राममणि पौडेल स्वतन्त्र गरी १२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ।