• २ माघ २०८१, बुधबार

पीएम कप क्रिकेट : मधेश प्रदेशको सुखद सुरुवात

blog

‘म्यान अफ दि म्याच’ घोषित अनिल शाह । तस्बिर : क्यान

काठमाडौं, कात्तिक १७ गते । मधेश प्रदेशले प्रधानमन्त्री (पीएम) कप क्रिकेटमा सुखद सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार भएको खेलमा मधेशले प्रदेश–१ लाई ७२ रनले हरायो ।

जितका लागि मधेशले दिएको दुई सय १५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–१ ४३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४२ रनमा समेटिएको थियो । प्रदेश–१ का लागि लुभ कामतले सर्वाधिक २९ रन बनाउनुभयो ।

विवेक आनन्द मेहेताले २५, फिर्दोश अन्सारीले २२, मिनास थापाले १२, सोनु मण्डल र दीपक जोशीले समान ११/११ तथा सोनु अन्सारीले १० रन बनाउनुभयो । बलिङमा मधेशका मोहमद आदिल आलम, रुपेश सिंह, प्रदिप पासवान र विशाल सुलिङले दुई दुई तथा राजेश यादवले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको मधेशले ४८.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १४ रन बनाएको थियो । मधेशका लागि अनिल शाहले ६१ रन बनाउनुभयो । अनिल ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो ।

विवेक यादवले ३२, रुपेश सिंहले ३०, रोहन विकले २८ र कप्तान हरिशंकर शाहले १५ रन जोड्नुभयो । बलिङमा प्रदेश–१ का फिर्दोश अन्सारीले पाँच विकेट लिनुभयो । सिद्धान्त लोहनीले तीन तथा श्रवण यादव र लुभ कामतले एक एक विकेट झार्नुभयो ।

प्रतियोगितामा आफ्नो पहिलो खेलमा जित निकालेसँगै मधेशले दुई अङ्क बनाएको छ ।  मधेश दोस्रो स्थानमा छ । पराजित प्रदेश–१ तीन खेलबाट दुई अङ्क जोड्दै चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको पुलिसको तीन खेलबाट ६ अङ्क छ ।