भरतपुर कात्तिक १२ गते । चितवनको माडीमा एक जनाको हत्या भएको छ । शुक्रवार राती करिब १ बजे चितवन माडी न.पा. ४ धुसेरी बस्ने वर्ष ३२ को जीवन नेपालीको हत्या भएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।
नेपालीको आफ्नै घरमा मृत अवस्थामा रहेको भन्ने जानकारी हुना साथ इप्रका माडी बाट प्र.नि. को टोली गई हेर्दा मृतकको टाउकोमा चोट लागेको अवस्थामा रहेको र घटनास्थलमा खुकुरीसमेत फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान भइरहेको छ । घटनामा संलग्न रहेको आंशकामा प्रहरीले रहेकोले अनुसन्धान कार्य भइरहेको बताइएको छ । सो घटनामा संलग्न रहेको आशङ्कामा पूर्वी नवलपरासी, गैँडाकोट नगरपालिका वडा न ७ टोल निवासी ३४ वर्षीय सुरेशबहादुर कुमाललाई प्रहरीले पक्राउ गरेको छ ।
कुमाल र नेपाली साथी हुन् । उनीहरू भरतपुर कारागारमा सँगै बसेर केही महिनाअघि जेलमुक्त भएका हुन् । कुमालले दुई दिनअघिको भाइटीकामा नेपालीकै दिदीको हातबाट टीका लगाएका थिए । दुवै जना अहिले नेपालीकै दाजु रमेश नेपालीको फर्निचरमा काम गर्थे । कुमाल बाघको छाला विक्री वितरणको अभियोगमा जेल परेका थिए ।
नेपालीको हत्या किन भयो भन्ने यकिन हुन सकेको छैन तर लागू पदार्थ सेवनपछि हत्या भएको स्थानीयको आशङ्का छ । कुमालले गए राति नै आफैले भाइटीका लगाएको नेपालीको दिदीको सुनका गहना पनि लुटेको बताइन्छ ।