• १६ भदौ २०८१, आइतबार

गठबन्धनलाई बलियो बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

blog

अमरराज नहर्की

तनहुँ, कात्तिक ११ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दलबीचको गठबन्धनलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धन दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलल सो आग्रह गर्नुभएको हो । 

गठबन्धनलाई सफल पार्नेमा हामी सबै एकमत हुनुपर्छ वरिष्ठ नेता पौडेलले भन्नुभयो । गठबन्धन कार्यान्वयनमा ल्याउन दलहरु सबै एकमत रहेको पनि उहाँले चर्चा गर्नुभयो । बैठकमा गठबन्धन हालको आवश्यकता भएकाले कार्यान्वयनमा ल्याई बलियो बनाउनुको विकल्प नभएको निकर्ष निकालेको नेकपा एकीकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्कीले जानकारी दिनुभयो । 

तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा आज बैठक बसेको थियो । सो बैठकमा  गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएकोले वरिष्ठ नेता पौडेलले कोही कसैको विरुद्धमा नजान आग्रह गर्नुभयो ।  

वरिष्ठ नेता पौडेलले तनहुँ– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । त्यस्तै प्रदेश (क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ कांग्रेसका अशोककुमार श्रेष्ठ र माओवादी केन्द्रबाट हरिबहादुर चुमानले उम्मेदवार बन्नुभएको छ । तनहुँ–२ मा प्रतिनिधि सभा सदस्यको लागि कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शङ्कर भण्डारी, प्रदेश (क) मा माओवादी केन्द्रका राजेन्द्रकेशरी न्यौपाने र  (ख) मा काँग्रेसका जिल्ला सभापति जीतप्रकाश आले उम्मेदवार बन्नुभएको छ । 

तनहुँका चार प्रदेशसभा क्षेत्रमा एकीकृत समाजवादीका पनि उम्मेदवार छन् । समाजवादीले एक स्थानमा फिर्ता लिइसकेको छ । बाँकी तीन स्थानमा गठबन्धनका उम्मेदवारलाई सहयोग गर्न बैठकमा आग्रह गरिएको थियो । माओवादीका पोलिटव्युरो सदस्य तथा तनहुँ क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार हरिबहादुर चुमान, एकीकृत समाजबादीका जिल्ला अध्यक्ष श्रीराम कार्की, सत्तारुढ गठबन्धनको तर्फबाट तनहुँ– १ को प्रदेश (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार अशोककुमार श्रेष्ठ लगायत नेताको बैठकमा उपस्थिति थियो ।