• ८ कात्तिक २०८१, बिहिबार

नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा जोशीको योगदान अमूल्य : प्रधानमन्त्री देउवा

blog

प्रधानमन्त्री शेरबहादुर देउवा श्रद्धाञ्जलि सभामा सहभागी हुनुहुँदै । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

ललितपुर, कात्तिक ११ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भाषा, साहित्य श्रीवृद्धिमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले खेलेको सिर्जनात्मक भूमिकाको छुट्टै महत्त्व रहेको बताउनुभएको छ ।

ललितपुरमा शुक्रबार आयोजित स्वर्गीय जोशीको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्नुहुँदै उहाँले जोशी निरङ्कुश पञ्चायतकालीन शासनदेखि २०६२/६३ सालसम्म भएको परिवर्तनको इतिहासको साक्षी रहेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, “जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले पुरातत्त्व संस्कृति विभागको निर्देशक बनाउनुभएको थियो । बीपी कोइरालाले त्यतिबेला नै उहाँको क्षमताको पहिचान गर्नुभएको थियो । नेपाली भाषा, साहित्य श्रीवृद्धिका लागि जोशीले खेलेको सिर्जनात्मक भूमिका छुट्टै  छ ।” 

जोशीले मुलुकलाई दिएको अमूल्य योगदानको सम्मानमा सरकारले शताब्दी पुरुषको उपाधि दिएको उहाँले चर्चा गर्नुभयो ।

प्रधानमन्त्री देउवाले देशलाई चिनाउने सबैभन्दा महत्त्वपूर्ण आधार संस्कृति रहेको  र जोशीको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रलाई ठूलो क्षति भएको छ । उहाँको योगदान राष्ट्रको सम्पत्ति हो, यसको संरक्षण गर्नुपर्दछ । यसमा सरकारले सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछु । उहाँको चिरशान्तिको कामना, परिवारजनमा समवेदना प्रकट गर्दछु ।”

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिविद् जोशीको चाहना पूरा गर्न नेपाल भाषालाई व्यवहारिक रूपमै प्रयोगमा ल्याउने कामलाई आफूले तत्काल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले स्वर्गीय जोशीले नेपालको संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको सरकारले सदा कदर गर्ने पनि बताउनु भयो । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘‘यो नेपाल संवतलाई कसरी व्यवहारमा प्रयोगमा ल्याउने भन्ने कुरा एउटा आम चासोका विषय पनि बनिरहेको छ । प्रधानमन्त्रीज्यूले पनि यो गर्नुपर्ने काम हो तर यसलाई कसरी वैज्ञानिक बनाउने भन्ने विषयमा चासो राख्नुभएको छ । प्रक्रिया अघि बढाएर यो काम गर्नुस् भन्नु भएको छ । यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’’

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले संस्कृतिविद् जोशीको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गर्नुभयो ।