• १३ साउन २०८१, आइतबार

मिथिलामा भैयादुज पर्व मनाइँदै

blog

दाजुभाइ तथा दिदीबहिनीको प्रेम सम्बन्धको प्रतीक भातृद्वितीय पर्वको विधि गरिँदै । तस्बिर : लक्ष्मी चौधरी

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक १० गते । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमसम्बन्ध दर्साउने भातृद्वितीय अर्थात् भाइदुज पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष तिहारको अन्तिम दिन अर्थात् यमपञ्चकको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइको दीर्घायुको कामनासहित भातृद्वितीय अर्थात् भरद्वितीया पर्व मनाइन्छ ।

दिदीबहिनीले घरको खुला स्थानमा पिठार (चामलको पिठोको घोल) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो घेराको सीमाभित्र काठको पिरामा दाजुभाइलाई बसाएर भाइदुज पर्व मनाउने परम्परा मिथिलामा रहँदै आएको छ । 

दाजुभाइले दिदीबहिनीको निम्तो स्विकार्दै पहाडी समुदायमा भाइटीका मनाइन्छ भने मिथिलाञ्चलमा भैयादुज अर्थात् भरदुतिया पर्व मनाउने चलन रहेको सङ्गीतकार सुनिलकुमार मल्लिकले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘भाइदुजमा टाढाबाट आएका दाजुभाइलाई विवाहित दिदीबहिनीले कोपरामा राखेर तातोपानीले गोडा धुने गर्छन् भने पिजाएको हत्केलामा दाजुभाइलाई पिठार, पानको पात, सुपारी, मखान र केराउको दान राखिदिएर दिदीबहिनीले सिन्दूरको टीका लगाइदिने मैथिल परम्परा छ ।’ 

मैथिल संस्कृति जोगाउन सदैव तत्पर रहने उहाँ भन्नुहुन्छ पहिले कायस्थ र ब्राह्मनले मात्र मनाउने भातृद्वतीया जसलाई भैयादुज भनिन्छ । आजकल मिथिलामा सबैले मनाउन थालेको उहाँको भनाइ छ । भाइटीका र भाइदुज पनि सँगै मनाएको देख्न सकिन्छ, मल्लिकले भन्नुभयो ।   

भातृद्वितीयमा सुकेको केराउको दाना दाजुभाइलाई चबाउन दिइन्छ । जसलाई ‘बजरी’  ख्वाइने भनिन्छ । दाजुभाइको शरीर बज्रसमान कठोर होस्, कमला नदिझै कलकल बगिरहोस् भन्ने कामना गर्दै भाइदुज पर्व मनाइने गरेको मल्लिकले भन्नुभयो । 

मिथिलाञ्चलमा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीन वटा पर्व छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी धागो ‘राखी’ बाँधिदिने जसलाई रक्षाबन्धन भन्ने गरिन्छ । यस्तै यमपञ्चक अर्थात् तिहारको कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुज र कात्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व यी पर्वले दाजुभाइ तथा दिदीबहिनीको प्रेम सम्बन्ध दर्साउने गर्छ ।