अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक ९ गते । तेह्रौँ शताब्दीदेखि निरन्तर हुँदैआएको संस्कार आगादेऊ पूजा मंगला गाउँपालिका –३ बरंजामा सुरु भएको छ । मंगला गाउँपालिका –३ र ४ मा मुख्य बसोबास रहेको ५४ कुरीया मगरहरूले यो पर्व मनाउँदैआएका छन् ।
यम पञ्चक सुरु भएसँगै सुरु भएर तिहारको टीका लगाएपछि मुडुला लखेटेपछि आगादेऊ पर्व सकिन्छ । आगादेऊ पूजामा स्थानीय ५४ कुरिया मगरहरूको मात्र सहभागिता हुने गर्दछ । तेह्रौँ शताब्दीमा बरंजा क्षेत्रमा आएका ९ थरका ५४ कुरिया मगरहरूको अहिलेसम्म १३ पुस्ता पुगेको ५४ कुरीया मगर समुदाय अन्तर्गतका अगुवा चित्र रोकाले बताउनुभयो ।
५४ कुरिया (घर) मगरहरूले मनाउने भनिने उक्त आगादेऊ पूजामा ५४ कुरिया मगर समुदायको मात्रै सहभागिता रहन्छ । निकै पहिला ९ वटा फरक थरका ५४ घर मगरबाट सुरु भएको उक्त पर्व प्रत्येक तेस्रो वर्ष अर्थात् एक वर्ष बिराएर तिहारको समयमा गरिन्छ । यसअघि २०७७ मा मनाइएको पर्व अब २०८१ मा मनाइने रोकाले बताउनुभयो ।
अर्का युवा बुद्धिबहादुर घर्तीका अनुसार आन्तरिक संस्कारका रूपमा लिइने आगादेऊ पूजाको पहिलो दिन आफ्नो जातिका महिला र अन्य जातिका सबै मानिसले बरंजाको निश्चित क्षेत्रबाट अन्यत्रै जानु पर्ने चलन छ । परापूर्वकालमा अनिवार्य बस्ती छाड्नु पर्ने भनिए पनि पछिल्लो समय आएर अन्य जातिलाई अनिवार्य छैन । काग तिहारदेखि सुरु भएर तिहारको दिन सकिने उक्त संस्कारमा आफ्ना झाँक्रीहरूले देउतासँग समन्वय गर्नेसम्मको हुन सक्ने मान्यता रहेको घर्तीले बताउनुभयो ।
यस वर्ष काग तिहारको दिन ३ बजेसम्म स्थानीय महिलाले गाउँ छाडिसकेका थिए । ५४ कुरियाका झाँक्रीहरू जम्मा भएर नौ थर घर घुम्ने काम भएको घर्तीले बताउनुभयो । पहिलो दिन झाँक्री बसेर नौ थरे घुम्ने, दोस्रो दिन बिहानै भेडाको साँडले बलि दिएर भतेर लगाउने, तेस्रो दिन सुँगुरले पूजा गरेर भतेर लगाउने तथा तिहारको टीका लगाएपछि मुडुला लखेट्ने यो समुदायको आगादेऊ पूजाको मुख्यविधि हो । मुडुला लखेट्ने भनेको भूतप्रेतलाई लखेट्ने रहेको ५४ कुरीया अन्तर्गतकै युवा खगेन्द्र रोकाले बताउनुभयो ।
५४ कुरियाबाट सुरु भएको मगरहरूको पछिल्लो तथ्याङ्कको आधारमा हेर्दा चार सयभन्दा बढी घर पुगेका र जनसङ्ख्या दुई हजार तीन सयमाथि पुगेको अनुमान छ । त्यस क्षेत्रका मगर समुदायले प्रत्येक वर्षको जेठमा धुले मेला र प्रत्येक तेस्रो वर्ष अर्थात् एक वर्ष बिराएर आगादेऊ पूजा गर्ने गर्दछन् ।
आगादेऊ पूजामा अन्य समुदायको प्रवेश निषेध हुनेगरेकाले त्यसको आधिकारिक तस्बिर तथा तथ्यहरू अन्य समुदायसम्म पुग्न नसकेको भए पनि पछिल्लो समय केही तथ्यहरू भने बाहिर आउन थालेको सो समुदायका अगुवाको भनाइ छ ।