• २० असोज २०८१, आइतबार

एमाले एक्लैको बहुमत आउँछ : उपाध्यक्ष पौडेल

blog

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक ९ गते । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफ्नो पार्टी एक्लैले बहुमत ल्याउने दाबी गर्नुभएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले सत्तारुढ गठबन्धनले मुलुकको समस्या समाधान नगरेकाले निर्वाचन पछि पुनः एमाले नेतृत्वमा सरकार बन्ने पौडेलले दावी गर्नुभयो । 

सत्तारुढ गठबन्धनको कामकारबाहीलाई मतदाताले नजिकबाट नियाली सकेकाले पुनः गठबन्धन दललाई बहुमत नदिने उहाँको बुझाई छ । अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने उहाँले बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका उम्मेदवारसमेत रहनुभएका उपाध्यक्ष पौडेलका अनुसार आउने निर्वाचनबाट पाँच वर्षका लागि जनादेशप्राप्त शक्तिका रुपमा सरकारको नेतृत्व गर्ने शक्तिका रुपमा एमाले उदाउनेछ । 

दुई तिहाई त म भन्दिनँ । साधारण बहुमत एमाले एक्लैले ल्याउने स्थिति छ उहाँले भन्नुभयो । त्यसमा अरु पनि सहयात्री दलहरुको समर्थन गर्दाखेरी हामी सुविधाजनक बहुमतका साथ आगामी पाँच वर्ष मुलुकको नेतृत्व गर्छौं उहाँले दाबी गर्नुभयो ।

गठबन्धन दलले मुलुकको समस्या समाधान गर्न नसक्ने पुष्टि भइसकेकाले निर्वाचनमा मतदाताले गठबन्धनलाई मतदान नगर्ने उहाँको दाबी छ । उपाध्यक्ष पौडेलले आफ्नो पार्टी निर्वाचनको तयारीमा सबैभन्दा व्यवस्थित ढङ्गले अघि बढेको पनि बताउनुभयो । छिट्टै पार्टी केन्द्रले चुनावी घोषणापत्र पनि सार्वजनिक गर्ने उपाध्यक्ष पौडेलले बताउनुभयो । रुपन्देही क्षेत्र नम्बर २ बाट आफू सानदार ढङ्गले विजयी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

उपाध्यक्ष पौडेलले आफ्नो पार्टी शासकीय स्वरुपको विषयमा पुनर्विचार गर्ने पक्षमा नरहेको पनि स्पष्ट पार्नुभयो । संविधानको रक्षा र त्यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुने तर त्यसको शासकीय स्वरुपलाई तत्काल संशोधन गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको उहाँले प्रष्ट पार्नुभयो । संविधानको प्रभावकारी कार्यान्वयन आफ्नो पार्टीको केन्द्रीय विषय भएको बताउनुभयो । 

आजको आवश्यकता शासकीय स्वरुपको बारेमा विचार वा पुनर्विचारभन्दा पनि आजको आवश्यकता संविधानको रक्षा हो । संविधानको प्रभावकारी कार्यान्वयन हो नेता पौडेलले भन्नुभयो । संविधानले सुनिश्चित गरेका मौलिक हकको निर्बाध रुपमा नागरिकहरुले उपभोग गर्न पाउने परिस्थितिको निर्माणमा पनि आफ्नो पार्टी लागिपर्ने प्रतिबद्धता पौडेलले व्यक्त गर्नुभयो ।