• १३ साउन २०८१, आइतबार

त्रिमूर्तिमा देवकोटा जयन्ती: चार जनाबाट कविता वाचन

blog

काठमाडौं, कात्तिक ९ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जयन्तीका उपलक्ष्यमा साहित्यकार डा.तुलसी भट्टराई तथा त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईँले महाकवि देवकोटाको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । त्यस अवसरमा उहाँहरूले कविशिरोमणि लेखनाथ पौडयाल र नाट्यसम्राट् बालकृष्ण समको पूर्णकदको सालिकमा पनि माल्यार्पण गर्नुभयो ।

सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनद्वारा आयोजित काव्यसभामा कविहरू ललिता दोषी, यादव भट्टराई,  भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो । डा.तुलसी भट्टराईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमका त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौडयाल काव्यसभाका संयोजक प्रा.केशव सुवेदी, बालकृष्ण सम फाउन्डेसनका संयोजक मदनदास श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.डा.महादेव अवस्थी र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाटयसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्ति प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । 

कविशिरोमणि, नाट्यसम्राट् र महाकविको सम्मानार्थ नइ प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको सदस्य सचिव नरेन्द्रराज प्रसाईँ बताउनुभयो ।