• ९ मंसिर २०८१, आइतबार

स्वतन्त्र उम्मेदवार भुसाललाई कांग्रेसका प्रदेश उम्मेदवारको सहयोग

blog

छवि पाण्डे

बुटवल, कात्तिक ७ गते । नेकपा एमाले परित्याग गरेर प्रतिनिधिसभामा रुपन्देही १ बाट स्वतन्त्र उम्मेद्वार बन्नुभएका घनश्याम भुसालको सहयात्री अहिले कांग्रेस बनेको छ ।  

निर्वाचन नजिकिँदै जाँदा भुसाल कांग्रेसका प्रदेश सभाका उम्मेदवारसँगै मत माग्दै घरदैलो गरिरहनुभएको छ । 

नेपालको कम्युनिष्ट वाम आन्दोलनका चर्चित युवा भुसाल अहिले त्रिभुज चुनाव चिन्ह लिएर अहिले घरदैलो गरिरहनुभएको छ । 

कुनै समय नेपाली कांग्रेससँग आम निर्वाचनमै प्रतिष्पर्धामा खरो उत्रिनुभएका भुसाललाई अहिले कांग्रेससहितको सत्तारुढ पाँचदलीय गठबन्धनले साथ दिएको छ । 

निर्वाचनमा नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक र विश्वनाथ यादवले साथ दिनुभएको छ ।  

भुसालको दैनिकी अहिले आफू निकटका एमाले तथा गठबन्धनका नेता कार्यकर्तालाई भेट्ने, परामर्श गर्ने र आमसभाहरु गरेर जनतासँग भोट माग्नमै व्यस्त छ । 

भुसाल उम्मेदवार बनेको रुपन्देही क्षेत्र नं. १ यसअघि ०७४ सालमा पनि एमालेका उम्मेद्वार छविलाल विश्वकर्माले जितेको क्षेत्र हो । अहिले पनि एमालेबाट उहाँ नै उम्मेद्वार बन्नुभएको छ । 

हिजोसम्म एउटै पार्टीमा सहयात्रा गरेका भुसाल र विश्वकर्मा प्रतिस्पर्धी हुनुहुन्छ ।

भुसालले गठबन्धनका प्रदेश सभाका उम्मेद्वारद्वय अब्दुल रज्जाक र विश्वनाथ यादवसँगै चुनावी अभियानमा लाग्नुभएको छ ।

यादव १ को (क) र रज्जाक (ख) का उम्मेद्वार हुनुहुन्छ । भुसालको मतदातासँग भोट माग्ने शैली यसपटक अलिक फरक छ । अरु बेला सैद्धान्तिक र नीतिगत बहस जस्तो लामो भाषण गर्ने भुसालले अहिले भने चुनाव केन्द्रित हुनुहुन्छ । 

चुनावी कार्यक्रमहरुमा भुसालले नरम, शिष्ट र सभ्य भाषामा नमस्ते, जय नेपाल र लाल सलाम भनेर सम्बोधन गर्दै आउनुभएको छ । 

आम मानिसले प्रयोग गर्ने आदरार्थी शब्द ‘नमस्ते’, नेपाली कांग्रेसजनले प्रयोग गर्ने ‘जय नेपाल’ र कम्युनिष्टहरुले प्रयोग गर्ने ‘लाल सलाम’ यी तीनवटै सम्बोधन उहाँले गर्नुहुन्छ । 

सोही क्षेत्रको १ (ख) बाट प्रदेशसभाका उम्मेद्वार नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले गठबन्धनले भुसाल जस्तो बौद्धिक नेता यो क्षेत्रले पाउनु भाग्यको कुरा भएको बताउने गर्नुभएको छ । अर्का उम्मेद्वार प्रदेश (क) का विश्वनाथ यादवले गठबन्धनका सबै दलले इमान्दारिता देखाउन आह्वान गर्नुभयो । 

करिब एक लाख मतदाता रहेको रुपन्देही १ मा देवदह नगरपालिकाका १३ वटै वडा, तिलोत्तमा नगरपालिकाका ९, ओमसतिया गाउँपालिकाका ५ वटा वडा र रोहिणी गाउँपालिका पर्दछन् । 

स्वतन्त्र उम्मेदवार वामपन्थी नेता घनश्याम भुसाल रुपन्देही १ को चुनावी कार्यक्रममा ।