नवराज नेपाली
बागलुङ (गलकोट) फागुन २८ गते । ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि उक्त रोगविरूद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । नगरपालिका भित्रका १० देखि १९ वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई यही फागुन २९ देखि चैत १ गतेसम्म खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको थियो । यसैगरी, ७७ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ ।
“दादुराको सङ्क्रमण रोकथामका लागि बिरामीको खोजी तथा पहिचान गर्ने, उपचारको दायरामा ल्याउने कार्य भइरहेको छ”, खोप सुपरभाइजर खत्रीले भन्नुभयो, “समुदायस्तरमा सचेतना अभिवृद्धिको काम पनि भइरहेको छ ।” अहिले चिकित्सकसहितको टोली पुगेर दादुरा महामारी नियन्त्रणको काम भइरहेको छ । यही फागुनको पहिलो साता भारतबाट आएका एक जना दादुरा सङ्क्रमितले दादुरा सारेको जनाइएको छ ।
दादुरा अत्यन्तै सङ्क्रामक भएकाले एक जना सङ्क्रमितले १८ जनासम्म सङ्क्रमण सार्न सक्ने बताइएको छ । नेपाल सरकार तथा राष्ट्रिय खोप सल्लाहकार समितिको निर्णय अनुसार नगरपालिकाका सबै वडामा रहेका १० देखि १९ वर्ष उमेर समूहका किशोर–किशोरीलाई दादुराविरुद्धको खोप लगाइने भएको हो । नजिकका विद्यालय तथा स्वास्थ्य संस्थामा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिनेछ।
नगरपालिकाले लक्षित उमेर समूहका सबै किशोर–किशोरीलाई आफ्नो नजिकको विद्यालय वा खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन अभिभावक तथा सरोकारवालासँग अनुरोध गरेको छ।
दादुरा सङ्क्रमणबाट जटिल स्वास्थ्य समस्या तथा सम्भावित मृत्यु हुन सक्ने भएकाले समयमै खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ। साथै सङ्क्रमणबाट बच्न मास्क प्रयोग गर्ने, खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने, साबुनपानीले राम्रोसँग हात धुने, बालबालिकालाई भिडभाडमा नलैजाने र पोषिलो खानेकुरा खाने जस्ता स्वास्थ्य सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।
स्वास्थ्य समस्या वा दादुराका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न पनि कार्यालयले सबैलाई आग्रह गरेको छ।