चन्द्र पन्दाक
ताप्लेजुङ, फागुन २८ गते । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । आफ्नो नवौं स्थापना दिवसको अवसरमा गाउँपालिकाले किसान, कर्मचारी र पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले बुधबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट किसान, कर्मचारी, शिक्षक र पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा उत्कृष्ट किसानतर्फ पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका कुलराज न्यौपाने, वडा २ थेचम्बुका तुलाराम भट्टराई रहनुभएको छ ।
यस्तै, वडा ३ तिरिङ्गेका किसान सम्झा लिम्बू र वडा ६ थुम्बेदिनका किसान रामकुमार भण्डारी नगदसहित सम्मानित हुनुभएको छ । सम्मानित किसानलाई जनही ५० हजार रुपियाँका दरले नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
त्यस्तै गाउँपालिका र मातहतका कार्यालयअन्तर्गत कार्यरत उत्कृष्ट कर्मचारीतर्फ हेल्थ असिस्टेन्ट विकास पुन, सहायक चौथो पिपलमान गान्छाकी, कार्यालय सहयोगी सीतादेवी विक सम्मानित हुनुभएको छ । उत्कृष्ट शिक्षकका रुपमा अभिषेक मेन्याङ्बो पनि सम्मानित हुनुभएको छ । सम्मानित कर्मचारी तथा शिक्षकलाई जनही १५ हजार रुपियाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिएको छ ।
यसैगरी ताप्लेजुङ जिल्लामा कार्यरत उत्कृष्ट पत्रकारका रुपमा गोरखापत्रकर्मी चन्द्र पन्दाक सम्मानित हुनुभएको छ । सम्मानित पत्रकार पन्दाकले २५ हजार रुपियाँ नगद पुरस्कार र सम्मानपत्र प्राप्त गर्नुभएको छ । सम्मानित किसान, कर्मचारी, शिक्षक र पत्रकारलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठ लगायतले पुरस्कार रकम र सम्मानपत्र वितरण गर्नुभएको थियो ।
पालिकाभित्र उदाहरणीय कृषिकर्म गर्ने किसान, उत्कृष्ट जिम्मेवारी बहन गर्ने कर्मचारी र शिक्षक छनोट गरी सम्मान गरिएको गाउँपालिका अध्यक्ष सुब्बाले बताउनुभयो । त्यस्तै पत्रकारितामार्फत पालिका र सिङ्गो जिल्लालाई सहयोग पुग्नेगरी भूमिका निर्वाह गरेको मूल्याङ्कन गर्दै पत्रकार पन्दाकलाई सम्मान गरिएको अध्यक्ष सुब्बाले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका पदाधिकारीसहित जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।