• १३ साउन २०८१, आइतबार

हार्दिक शुभकामना

blog

चाडपर्व नेपाली सभ्यता र संस्कृतिका गहना हुन्। एकताका प्रतीक हुन्। त्यसक्रममा वि.सं २०७९ को तिहार, नेपाल संवत् र छठजस्ता पर्वको हर्ष, उल्लास तथा उमङ्ग नेपालीको घरआँगनमा आइरहेको छ। बडादशैं सम्पन्न भएसँगै यी महत्वपूर्ण चाडपर्वको स्वागतले यो शरद् ऋतुमा नेपालीहरू जोस, जाँगर बढिरहेको छ। राजनीतिक रूपमा आसन्न मङ्सिर ४ गतेको संसदीय निर्वाचन घरदैलोमा आउँदै गर्दा चाडपर्वले नेपालीमा अझ हौसलाको वातावरण बनेको छ। 

नेपाल विविध जातजातिले भरिपूर्ण मुलुक हो र यहाँको जातीय विविधतालाई यस राष्ट्रको सौन्दर्य तथा शक्तिका रूपमा लिन सकिन्छ। यहाँका चाडबाडले विभिन्न जातजातिलाई एकै सूत्रमा उनेर राष्ट्रिय एकतालाई प्रश्रय दिन महत्वपूर्ण योगदान दिइरहेको पाइन्छ। फलस्वरूप नेपालभित्रका अधिकांश चाडबाड कुनै जाति विशेषका मात्र नभएर समग्रमा नेपाल र नेपालीका साझा सांस्कृतिक पर्वका रूपमा रूपान्तरित भएका छन्। हिजोसम्म हिमाली, पहाडी वा तराई क्षेत्र तथा निश्चित जातजातिले मनाउने गरेका चाडपर्वहरू आज मुलुकका निश्चित क्षेत्र वा जातजातिमा मात्र सीमित छैनन्। नेपालमा मनाइने सबै जातजाति तथा धर्मका चाडबाड अहिले सबै नेपालीले हर्षोल्लासपूर्ण तरिकाले मनाइरहेको पाइन्छ। विविध जातजाति तथा धार्मिक सम्प्रदायका मानिसहरूको बसोबास भए पनि नेपालमा धार्मिक कट्टरताका विषयलाई लिएर कुनै प्रकारका द्वन्द्व, सङ्घर्ष तथा विभेद पाइँदैन। यो नै नेपाल र नेपालीको सबैभन्दा सुन्दर पक्षका रूपमा स्थापित भएको छ। 

चाडबाडहरूले हामीलाई जीवन खुसीसाथ जिउने कला सिकाउँछ । यसैले व्यक्ति तथा समाजमा चाडबाडको प्रतीक्षा सदैव हुन्छ। चाडबाडहरू रमाइलो गर्ने माध्यम मात्र होइनन्। चाडपर्वले सामाजिक एकता अभिवृद्धि त गर्छ नै साथसाथै, चाडपर्वका कारण मुलुकको अर्थतन्त्र चलायमान भइरहेको हुन्छ। दशैँको मात्र कुरा गर्ने हो भने नयाँ लत्ताकपडा, खाद्यान्न, खसी बोकाको व्यापार आदिको कारोबार पचासौं करोडमा पुग्दा यसबाट देशको अर्थतन्त्र चलायमान बन्न निकै सघाउँ पुर्याउँछ। यसैगरी मुलुकको दोस्रो महत्वपूर्ण पर्व तिहारका अतिरिक्त नेपाल संवत् तथा छठजस्ता पर्वमा पनि वस्तु तथा सेवाको ठूलो मात्रामा आर्थिक लेनदेन तथा क्रयविक्रय भइरहेको हुन्छ। यसले अर्थतन्त्रलाई एक किसिमको ऊर्जा प्रदान गरिरहेको तथ्यलाई नकार्न सकिँदैन। तिहारमा मात्र १५ करोड रुपियाँ बराबरको फूलको कारोबार हुन्छ र यसको झन्डै ९० प्रतिशत अंश स्वदेशी फूल उत्पादनले धानिरहेको छ। 

 चाडपर्वले हाम्रा मेहनती किसानहरू तिहारका पाँच दिनमा मात्र राम्रो आयआर्जन गर्न सफल हुन्छन्। स्वदेशी फूल व्यवसायमा यसले निकै सकारात्मक प्रभाव पारिरहेको तथ्य यहाँ मननीय छ। यसैगरी फलफूललगायत अन्य विभिन्न स्वदेशी उत्पादनले तिहार, नेपाल संवत् तथा छठ पर्वमा मनग्य बजार प्राप्त गर्ने गर्छन्। यो विषय समग्रमा राष्ट्रिय अर्थतन्त्रका दृष्टिकोणबाट निकै सुखद विषय हो। अझै पनि तिहारलगायतका चाडबाडमा विभिन्न विदेशी उत्पादनको बजार असीमित नै छ, यस अर्थमा सरकारले कम्तीमा तिहारजस्ता पर्वका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन स्वदेशमा नै गर्न सक्ने वातावरण सिर्जना गर्न सके वास्तवमै यी चाडबाडको आर्थिक महत्व अझै बढ्नेमा कुनै शङ्का छैन। 

तिहार, नेपाल संवत् तथा छठजस्ता पर्वसँगै नेपालीले आमनिर्वाचनमा व्यस्त हुनुपर्नेछ। प्रतिनिधि सभा र प्रदेश सभाका प्रतिनिधिको चयनका निम्ति यही मङ्सिर ४ गते मुलुकभर मतदानको कार्यक्रम निर्धारण गरिएको छ। देश तथा आफ्नो क्षेत्र विकसित गराउने जनप्रतिनिधि चयनको यस पुनित कार्यमा सबै देशबासीको सक्रिय सहभागिता अनिवार्य छ। आफ्नो मतको सदुपयोग गर्दै सही, कर्मठ तथा नैतिकवान् पार्टी तथा उम्मेदवारलाई विजयी गराउनु महत्वपूर्ण छ। चाडबाडबाट प्राप्त उत्साह तथा जाँगरको उपयोग गरिँदा निर्वाचनमा समेत सकारात्मक प्रभाव पर्नेछ । तिहार, नेपाल संवत् तथा छठजस्ता पर्वहरूले हिमाल, पहाड तथा तराईमा बसोबास गर्ने नेपालीबीच भातृत्व तथा सद्भावको सुवास छरिरहोस्। मुलुकको राष्ट्रिय एकता सधैँ बलियो रहोस्। नेपालीबीच धार्मिक द्वन्द्व तथा द्वेषको भावना पनि कहिँल्यै विस्तार नहोस्। सम्पन्नताले देश तथा देशवासीलाई सधैँ  पछ्याइरहोस्। समस्त पाठकवर्ग तथा देशवासीमा यही हार्दिक शुभकामना।