• १४ असार २०८१, शुक्रबार

लिमीमा चुनावी प्रचार गर्न जान कठिन

blog

नारा लेकबाट लिमी जाँदै स्थानीय । तस्बिर सौजन्य : पाल्जोर तामाङ ।

राजन रावत

हुुम्ला, कात्तिक ६ गते । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचारका लागि उम्मेदवार तथा राजनीतिक दलहरुलाई लिमी जान कठिन भएको छ । असोज १९ गतेदेखि २४ गतेसम्म परेको वर्षाका साथै हिमपातले हिमालपारिको गाउँ लिमी जानेबाट अवरुद्ध भएपछि प्रचार अभियानमा जान कठिन भएको हो । 

नेकपा एमालेबाट प्रतिनिधिसभाको सदस्य पदका उम्मेदवार दल रावलले नाम्खा गाउँपालिका–६ को लिमीका तीन गाउँमा मतदाताहरुसँग चुनावी प्रचारप्रसारका लागि जान कठिन भएको बताउनुुभयो । उहाँले यतिखेरसम्म लिमी पुुग्ने कार्यक्रम रहेको भए पनि हिमपातले सडक अवरुद्ध भएको कारण जान नसकिएको बताउनुुभयो । 

त्यसैगरी, गठबन्धन दलहरुले पनि लिमीमा प्रचारप्रसारका लागि जाने बारे कुनै निर्णय लिन नसकिएको जनाएका छन् । सडकको हिउँ पग्लिएर गएपछि मात्र योजना बनाउने तयारीमा गठबन्धन दलहरु छन् ।

लिमी जानका लागि पाँच हजार मिटर अग्लो स्थान न्यालुु र चार हजार छ सय मिटर अग्लो स्थानको नारा लेक रहेको र दुुबै स्थानमा हिमपातले सडक अवरुद्ध बनाएका कारण हाल लिमी आउजाउ बन्द छ । यस पटक चाँडै हिमपात भएका कारण लिमीका तीन गाउँहरु तील, हल्जी र जाँङमा हिउँ पग्लेको भए पनि जाने बाटो बन्द भएका कारण समस्या देखिएको हो ।

लिमी जाने बाटो खुलाउनका लागि पूर्वाधार विकास कार्यालयले मेसिनबाट हिउँ पन्छाउने कार्य गर्न खोजेको भए पनि धेरै हिउँ सडकमा जमेका कारण सडक मर्मत गर्न सकेको छैन । 

अब लिमीमा चुनावी प्रचारका लागि जान हेलिकोप्टर प्रयोग गर्नुको विकल्प देखिँदैन । लिमीका केही स्थानीय नारा लेकबाट जाने गरी त्यसतर्फ लाग्नुुभएको छ । लिमीका तीन वटा मतदान केन्द्रमध्ये तीलमा १११, हल्जीमा २२७ र जाङमा २०४ मतदाता गरी कुल ५४२ मतदाता छन् । अहिले दलहरुलाई मात्र नभएर निर्वाचनका लागि खटिने कर्मचारीलाई जान पनि कठिन हुने देखिएको छ ।