• १६ भदौ २०८१, आइतबार

जनताको पक्षमा काम गर्ने अवसर दिन मतदातासँग आग्रह

blog

रमेश विश्वकर्मा 

गुल्मी, कात्तिक ६ गते । गुल्मीको निर्वाचन क्षेत्र नं – २ का गठबन्धन दलका साझा उम्मेदवारहरुले संविधानको रक्षासँगै जनताको पक्षमा काम गर्नका लागि गठबन्धन भएको बताउनुभएको छ । 

गठबन्धन दलका सो क्षेत्रका उम्मेदवारहरुले संविधानको रक्षा गर्न सकियो भने जनताका पक्षमा सजिलै काम गर्न सकिने बताउनुभएको हो । 

रेसुङ्गा नगपालिका–४ अर्खलेको विभिन्न स्थानमा भएको निर्वाचन परिचालन संयन्त्रसँगको भेटघाटमा यस क्षेत्रबाट गठबन्धन दलको साझा उम्मेदवार बन्नुभएका रामकुमारी झाँक्रीले संविधानको रक्षासँगै जनताको हकहितमा हुने काम गर्न गठबन्धन भएको बताउनुभयो । उहाँले विशेष गरी अधुरा र अलपत्र विकास निर्माणका कामलाई पूरा गर्ने बताउनुभयो । 

नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सचिवसमेत रहनुभएका झाँक्रीले यस क्षेत्रबाट पटक–पटक एउटै व्यक्तिलाई अवसर दिँदा पनि विकास निर्माणका काममा कुनै पनि परिवर्तन आउन नसकेको बताउनुभयो । 

“गुल्मेली जनतालाई गुणस्तरीय सेवा दिने र सबैलाई समान अवसर प्रदान गर्नेछौँ ।“ उहाँले भन्नुभयो,“ हामीले यस क्षेत्रका जनतालाई सरकार र विकासको अनुभूति हुनेगरी काम गर्नेछौँ ।“ अधुरा काम पूरा गरियो भने पाँच वर्षमा देखिने काम गर्न सकिने उहाँले बताउनुभयो । 

त्यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र नं. २ (क) का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले विगतका दिनमा यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, पुल सडकलगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्नुभयो । 

“हामीले यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेका छौँ ।“ उहाँले भन्नुभयो, “हामीले काम गर्ने तर जस अरुले लिने भएको छ । हामीले नागरिकको सहजताका लागि हरेक क्षेत्रमा काम गर्दै आएका छौँ ।“ 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति समेत रहनुभएका श्रेष्ठले आफूहरुले सधैँ नागरिकसँग जोडिएर काम गरेको बताउनुभयो । 

मतदाता सबैलाई एकताबद्ध भएर मतदान गर्न आग्रह गर्नुहुँदै उहाँले यो निर्वाचनमा आफूहरुलाई विजयी गराएर आम गुल्मेली जनताको सेवा गर्ने अवसर दिन अपिल गर्नुभयो । 

नेपाली कांग्रेस गुल्मीका सभापति एवम् गठबन्धनका निर्वाचन परिचालन संयन्त्रका जिल्ला संयोजक खिलध्वज पन्थीले जिल्लामा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबै मतदातासँग अपिल गर्नुभयो ।