• १९ असोज २०८१, शनिबार

सीमा व्यवस्थित गर्न सरकार लागिपरेको छ : गृहमन्त्री खाण

blog

भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाण ।

श्यामशङ्कर पाण्डे

लुम्बिनी, कात्तिक ५ गते । गृहमन्त्री बालकृष्ण खाणले हवाई तथा स्थल नाका व्यवस्थित गर्न सरकार लागिपरेको बताउनुभएको छ । सुरक्षा, पर्यटन प्रवर्धन तथा आर्थिक गतिविधि चलायमान गराउन नाका व्यवस्थित गर्न जरुरी रहेकाले सरकार त्यसतर्फ लागिपरेको उहाँको भनाइ छ। 

सत्ता गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका गृहमन्त्री खाणले भैरहवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार यस्तो बताउनुभएको हो । 

‘मुलुकको आन्तरिक सुरक्षाको साथै छिमेकी मुलुकविरुद्ध नेपालको भूमी प्रयोग गरेर कुनै प्रकारको गतिविधि रोक्न पनि नाका व्यवस्थित गर्नुपर्ने छ । यो विषयमा सरकार लागिपरेको छ । निर्वाचन लगत्तै सबै सीमा नाका व्यवस्थित गर्ने काम सुरु हुन्छ ।’ गृहमन्त्री खाणले बेलहीयामा बन्ने आईसीपी निमार्णका लागि नेपाल सरकारले कूटनीतिक र राजनीतिक रुपममा पहल गरिरहेको जानकारी गराउनुभएको छ ।

‘आईसीपीका लागि हामीले जग्गा अधिग्रहण गरिसकेका छौं । भारत सरकारले जग्गा अधिग्रहण नगर्दा निमार्णमा ढिलाइ भएको हो । जग्गा अधिग्रहण गरेर निर्माण प्रक्रिया  अगाडि बढाउन नेपाल सरकारले भारत सरकारसँग कूटनीतिक र राजनीतिक दुवै तवरले छलफल अगाडि बढेको छ ।’ 

अधुरो रहेको बेलहिया-बुटवल व्यापारिक मार्ग अन्तर्गत बेलहिया खण्डको अपुरो रहेको सडक निर्माण तीनचार महिनाभित्रै सम्पन्न हुने उहाँले बताउनुभयो । विशेष आर्थिक क्षेत्र ‘सेज’मा नियमित विद्युत् आपूर्ति र सञ्चालन कार्यविधिमा उद्योगी व्यसायीले राख्दै आएका माग सकारात्मक रहेको पनि उहाँले बताउनुभयो ।