• १३ साउन २०८१, आइतबार

युक्रेनमा रुसको प्रभाव

blog

रुस र युक्रेनबीचको युद्ध लम्बिँदै जाँदा त्यसको प्रभाव विश्वव्यापी रूपमा परेको छ। युद्ध लम्बिनु राम्रो होइन तर युद्ध रोकिने सङ्केत देखिएन । युक्रेनले रुस र क्रिमिया जोड्ने पुल ध्वस्त पारिदिएपछि रुसले थप प्रतिशोधपूर्ण कारबाही गर्दा युक्रेनमा थप मानवीय र भौतिक क्षति भएको छ। 

अन्तर्राष्ट्रिय दबाब र आग्रहलाई बेवास्ता गर्दै रुसले युक्रेनको १५ प्रतिशत भू–भाग आफूमा विलय गराएको छ। युद्धका क्रममा रुसले कब्जा गरेका युक्रेनका चार प्रान्त लुहान्स्क, डोनेट्स्क, जापोरिजा र खेअर्सनमा कथित जनमत सङ्ग्रह गराई रुसले एकलौटी रूपमा ती प्रान्तलाई आफूमा विलय गराएको हो। विलय गराएका यी चार प्रान्तको क्षेत्रफल हङ्गेरी जत्रो छ। यो दोस्रो विश्वयुद्धपछिको ठूलो विलय हो। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चार प्रान्तका जनताको अभिमत र चाहनाअनुसार नै रुसमा गाभिएको दाबी गर्नुभएको छ।

रुसको सो कार्यको विश्वव्यापी निन्दा भएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले खेद प्रस्ताव पारित गरेको छ। नेपालसहित विश्वका १४३ देशले सो प्रस्तावको पक्षमा मतदान गरेका छन्।   

रुसले कब्जा गरेका युक्रेनका चार प्रान्त लुहान्स्क, डोनेट्स्क, जापोरिजा र खेअर्सनमा गत सेप्टेम्बर २३ देखि २७ सम्म पाँच दिन एकतर्फी रूपमा जनमत सङ्ग्रह गराएको थियो। जनमत सङ्ग्रहको परिणम रुसमा विलय हुने पक्षमा गएको भन्दै सेप्टेम्बर ३० राष्ट्रपति पुटिनले ती चार प्रान्तलाई रुसमा गाभिएको घोषणा गर्नुभयो। रुसले सन् २०१४ मा यसैगरी युक्रेनको क्रिमिया प्रान्तलाई यसैगरी आफूमा विलय गराएको थियो। यो विलयलाई संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको छैन। रुसको यो दादागिरीले युक्रेनजस्तै अन्य साना मुलुकको सुरक्षा खतरामा परेको छ। 

गत फेबु्रअरी २४ देखि सुरु भएको रुस र युक्रेनबीचको युद्ध धेरै लम्बिएला भन्ने लागेको थिएन। युक्रेनी सेना र नागरिकको प्रतिवाद साथै बाह्य हतियार र आर्थिक सहयोगले गर्दा युद्ध लम्बियो। युद्धमा रुस र युक्रेनका गरी ५० हजारभन्दा बढी सेना र सर्वसाधारणको मृत्यु भइसकेको अनुमान गरिएको छ। ६० लाख मानिस शरणार्थी बनेका छन्। एक करोड ४० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। 

युक्रेनको राजधानी किभलगायत प्रमुख सहरका अधिकांश भौतिक संरचना ध्वस्त भएका छन्। युद्धका कारण विश्वव्यापी महँगी बढेको छ। युक्रेनलाई पश्चिमा मुलुकहरूले हतियार र आर्थिक सहयोग दिइरहेकाले युद्ध लम्बिएको हो। 

युक्रेनका राष्ट्रपति भ्लोदीमिर जेलेन्स्की अन्तिम समयसम्म रुससँग लड्ने अडान लिएका कारण अकल्पनीय क्षतिको क्रम जारी छ। रुसी राष्ट्रपति पुटिन जसरी पनि युक्रेनलाई हराउने पक्षमा लाग्नुभएको छ। उहाँले युक्रेनलाई हार स्वीकार गर्न दबाब दिनुभएको छ। चारवटा प्रान्त गुमाउँदा पनि युक्रेन हार स्वीकार गर्ने पक्षमा अहिलेसम्म देखिएको छैन। बरु उसले छोटो मार्गबाट कसरी छिटो हुन्छ उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्यता लिने पक्षमा उभिएको छ। जुन कुरा रुसलाई सह्य हुँदैन। युक्रेनले हार स्वीकार नगरे परमाणु अस्त्र प्रयोग गर्ने चेतावनी पनि रुसले दिएको छ। 

युक्रेनले युरोपेली सङ्घ (ईयू) र नेटोको सदस्यता लिने तयारी गरेपछि रुष्ट भएको रुसले आफ्नो सुरक्षा खतरामा पर्ने भएकाले दुवै सदस्यताबाट रोक्न सैन्यकारबाही गरेको हो। रुसको यो सैन्यकारबाही संयुक्त राष्ट्रसङ्घको वडापत्र र अन्तर्राष्ट्रिय कानुनविपरीत छ। रुसी आक्रमणको विश्व समुदायबाट विरोध मात्र भएको छैन कि रुसविरुद्ध कडा अन्तर्राष्ट्रिय नाकाबन्दी लगाइएको छ। यसबाट रुसको अर्थव्यवस्था पनि प्रभावित बनेको छ। तैपनि रुस पछि हट्ने पक्षमा छैन।  

विश्वको आवाजलाई बेवास्ता गर्दै पुटिनले युक्रेनविरुद्ध सैन्यकारबाही हार स्वीकार गरी ईयू र नेटोको सदस्यता नलिने प्रतिबद्धता नजनाएसम्म जारी राख्ने बताउनुभएको छ। युक्रेनका कारण आफ्नो सुरक्षा खतरामा परेको र मुलुकको सुरक्षाका लागि युक्रेनविरुद्ध सैन्यकारबाही गर्नुपरेको भन्ने उहाँको तर्क छ तर एउटा सार्वभौम मुुलुकविरुद्धको यो अन्याय र आततायीपूर्ण कारबाही अन्य कुनै हिसाबले जायज मान्न सकिँदैन। पुटिनले युक्रेनमाथि सैन्यकारबाही गरेर इतिहासकै ठूलो गल्ती गरेको अन्तर्राष्ट्रिय समुदायलाई लागेको छ। 

युद्ध सुरु भएपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बारम्बार पश्चिमा मुलुकसँग सैन्य सहयोगका लागि आह्वान गर्नुभयो। पश्चिमा मुलुक यो युद्धमा सामेल हुनेबित्तिकै तेस्रो विश्वयुद्ध सुरु हुने खतरा देखिएकै कारण उनीहरूले युक्रेनको पक्षमा सेना पठाउन भने तयार भएनन्। अमेरिका, बेलायत, नेटो, ईयूलगायत अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्षमा हुँदाहुँदै पनि सेना पठाएर तेस्रो विश्वयुद्ध निम्त्याउन चाहेनन्। उनीहरू रुसलाई सबैतिरबाट एक्ल्याउने र युक्रेनको मनोबल बढाउने पक्षमा लागेका छन्। यद्यपि युक्रेनलाई आर्थिक र हतियार सहयोग दिएर पुग्ने अवस्था छैन। यसले युक्रेनलाई लामो युद्धमा धकेल्ने छ र पूर्ण रूपले तहसनहस बनाउनेछ। अहिलेको तौरतरिकाबाट युक्रेनले युद्ध जित्न सम्भव नै छैन, उसले गुमाउने मात्रै छ।  

विश्वकै ठूलो राष्ट्र रुससँग धेरै हतियार र ठूलो सङ्ख्यामा सेना रहेकाले सानो राष्ट्र युक्रेन एक्लै लामो समयसम्म युद्ध गर्नु भनेको मुलुकलाई पूर्ण रूपले ध्वस्त बनाउनु मात्र हुनेछ। विदेशीको आर्थिक र हतियार सहयोगमा युद्ध जारी राख्नु कुनै हिसाबले पनि युक्रेनलाई फाइदा हुँदैन। छिमेकी रुससँग वार्ता गरी दुवैलाई मान्य हुने निकास छिटो खोज्नु नै आजको आवश्यकता हो। अहिलेको अवस्था के छ भने पर्याप्त हतियार र सेना रहेको रुस लामो समयसम्म युक्रेनसँग युद्ध गर्न सक्छ। बाह्य हतियार र आर्थिक सहयोगबिना युक्रेनले रुससँग प्रतिवाद गरिरहन गाह्रो छ। युद्ध लम्बिँदै जाँदा पश्चिमा मुलुकको हतियार त बिक्री हुन्छ। यसले समस्याको निकास भने दिँदैन। 

सोभियत सङ्घको विघटनसँगै स्वतन्त्र भएको युक्रेन अहिले रुससँग टाढिएर युरोपतिर ढल्किएको छ। दुई असल छिमेकी भएर बस्ने वातावरण नबनाएकै कारण अहिलेको सङ्कट आएको हो। पुटिनले युद्धद्वारा यसको निकास खोज्नुभयो। यो सङ्कट युद्धद्वारा समाधान भने हुनै सक्दैन। पुटिनले युद्धको सट्टा वार्ताद्वारा नै रुस–युक्रेन सम्बन्ध सुधार गरी असल छिमेकी भएर बस्न सकेको भए युद्ध गरेर बदनाम हुनुपर्ने अवस्था आउने थिएन। यो युद्धले युक्रेन त तहसनहस भयो नै रुसलाई पनि क्षति पुगेको छ।  

सोभियत सङ्घको विघटनपछि लगभग टाट पल्टिन लागेको रुस पुटिन नेतृत्वले पुनः शक्तिशाली बनेको हो। यसैले रुसमा उहाँको प्रभाव राम्रो छ। रुसलाई पुनः शक्तिशाली बनाउन पुटिनको योगदान महìवपूर्ण रहेको सन्दर्भमा उहाँले युद्धको होइन शान्तिको बाटो समाएर युक्रेनसँगको विवाद शान्तिपूर्ण समाधान गर्नुपथ्र्यो। दुई दशक लामो सत्ताभोगले उहाँमा शक्तिको उन्माद लाग्यो त्यसैको परिणाम हो युक्रेनसँगको युद्ध। 

अन्तर्राष्ट्रिय आवाज र दबाब कमजोर भयो भने पुटिनको गलत महìवाकाङ्क्षाले पूरै युक्रेनलाई रुसमा विलय गराउने खतरा एकातिर छ भने अर्कोतिर तत्कालीन अन्य रुसी गणराज्य पनि असुरक्षित बन्नेछन्। यसलाई रोक्ने उपाय भनेकै पुटिनको कारबाही गलत छ भनेर सबै क्षेत्रबाट उहाँमाथि कडा दबाब सिर्जना गरी आत्मालोचना गराउनु हो। उहाँलाई आत्मालोचना गराउन त्यत्ति सजिलो भने छैन किनभने अहिले उहाँ रुसमा सर्वेसर्वा नेता हुनुहुन्छ। 

सन् २००० देखि लगातार सत्तामा रहनुभएका पुटिनकै कारण शक्तिशाली बनेको रुस अब युक्रेनसँगको युद्ध जिते मात्र उहाँको सत्ता बलियो हुन्छ। यदि रुसले यो युद्ध हा¥यो भने पुटिनको सत्ता धरापमा पर्नेछ। त्यही भएर उहाँलाई जसरी पनि यो युद्ध जित्नुछ। यद्यपि युद्ध जिते पनि पुटिन अब विवादमुक्त नेता बन्ने सम्भावना अन्त्य भएको छ। उहाँलाई विश्व समुदायले असल नेताका रूपमा हेर्ने छैन। उहाँकै युद्धमोहले महँगी र असुरक्षा बढाएको छ। असल नेता बन्न शान्तिपूर्ण माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ। युद्धलाई जोड दिने नेता राजनेता बन्न सक्दैन। युद्धले विध्वंश मात्र निम्त्याउँछ, शान्ति ल्याउँदैन। युद्ध गर्ने नेताहरू युद्धकै कारण पतन भएको इतिहास साक्षी छ।

सानो मुलुक युक्रेनमाथि सैन्यकारबाही गरेर पुटिनले बदनामी कमाउनुभयो। चुनावी माध्यमबाट लगातार सत्तामा रही शक्तिशाली बन्नुभएका उहाँले युद्धमोह नराखी वार्ताद्वारा युक्रेनसँगको विवाद मिलाई असल छिमेकी बन्नुभएको भए उहाँलाई असल नेता बन्ने अवसर थियो। उहाँलाई सत्ताको उन्माद लाग्यो, सत्ताको कुर्सीले अन्धो बनायो। पुनः सोभियत सङ्घ ब्युँताउनेजस्तो महìवाकाङ्क्षा उहाँमा पलायो। यसले आन्तरिक, क्षेत्रीय र विश्व शान्तिलाई समेत चुनौती दिएको छ। 

उता युक्रेनी राष्ट्रपति जेलेन्स्कीमा पनि राजनीतिक अनुभवको कमी देखियो। चलचित्र पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका उहाँले पश्चिमा मुलुकसँग सैन्य सहयोगका लागि पटक पटक हारगुहार गर्नु राम्रो होइन। उहाँको हारगुहारलाई स्वीकार गरी पश्चिमी सेना युक्रेनको पक्षमा लड्न आएको भए स्वतः तेस्रो विश्वयुद्ध सुरु हुने थियो। यो मामिलामा अमेरिकी राष्ट्रपति जोए बाइडेनले राजनीतिक परिपक्वता देखाउनुभयो। उहाँले युक्रेनको पक्षमा लड्न सेना नपठाउने निर्णय गरेर तेस्रो विश्वयुुद्ध हुनबाट जोगाउनुभयो। 

अब उहाँले रुस र युक्रनेबीच निर्णायक वार्ता गराई युद्ध अन्त्य गराउने र सहमतिमा ल्याउने काम गर्नुपर्छ। उहाँले चाहनुभयो भने छिट्टै यो युद्ध रोकिन सक्छ। होइन युक्रेनलाई आर्थिक र हतियार सहयोग दिइरहने हो युद्ध लम्बिनेछ। रुस र युक्रेन युद्ध लम्ब्याउनु कुनै हिसाबले पनि राम्रो होइन। यो युद्धका कारण तेल र ग्यासको मूल्य अकाशिँदा महँगीले विश्वका हरेक उपभोक्ता यसको मारमा परेका छन्। आजको विश्वव्यापीकरण र उदारीकरणले विश्वको कुनै एक कुनामा हुने घटनाले तत्कालै पूरै विश्वलाई प्रभावित बनाउँछ। त्यसैले विश्व शान्ति र मेलमिलापका लागि सबै मुलुकले संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नुपर्छ। यसैबाट मात्र विश्वमा शान्ति र मेलमिलाप सम्भव हुन्छ।