विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । यीमध्ये सात लाख गरिबीको रेखामुनि धकेलिन्छन् र १२ लाख जनाको मृत्यु हुन्छ । नेपालमा वार्षिक ६७ हजार नयाँ क्षयरोगी थपिन्छन्, जसमा ५० प्रतिशत सक्रिय उमेर समूहका हुन्छन् । उपचारमा करिब ३९ हजार आउँछन् । क्षयरोगबाट दैनिक ४४ तथा वर्षमा करिब १६ हजार जनाको मृत्यु हुने गरेको छ । आव २०८१/८२ मा पहिचान भएका बिरामीमा ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका छन् । उपचाररत बिरामीमध्ये ७२ प्रतिशत फोक्सोसम्बन्धी र २८ प्रतिशत अन्य अङ्गका क्षयरोगी थिए । औषधी प्रतिरोधी क्षयरोगी अनुमानित २४ सयमा ६२५ पहिचान भएका थिए ।
देशभरका ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा उपलब्ध छ भने ७८५ संस्थामा माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा पिसिआर निःशुल्क सञ्चालनमा छन् । औषधी प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन् । क्षयरोगमुक्त नेपाल अभियानका रूपमा पालिका क्षयरोगमुक्त बनाउन हरेक आर्थिक वर्षमा पालिका विस्तार गरिएको छ । कृत्रिम बुद्धि जडित नौ वटा डिजिटल एक्सरेमार्फत समुदायस्तरमा समेत सक्रिय बिरामी खोजी कार्य भइरहेको छ । हाल १४९ पालिकाले मात्रै क्षयरोग नियन्त्रणसम्बन्धी कार्यक्रम गरिरहेका छन् र पालिका क्षयरोगमुक्त अभियानमा छन् । नेपालमा सन् २०१०, २०१५ र २०१८ पछि स्थानीयस्तरसम्म पुगेर यस रोगसम्बन्धी सर्भेक्षण गरिएको छैन । क्षयरोगको महामारी २०२६ सम्ममा रोक्ने योजना भए पनि स्थानीयसँगको समन्वय प्रभावकारी नहुँदा सम्भव भएन । सन् २०३५ मा यो लक्ष्यलाई सारिएको छ । सन् २०२५ को तथ्याङ्कमा सबैभन्दा बढी सङ्क्रमित मधेशमा २५ प्रतिशत, २३ प्रतिशत बागमतीमा, २० प्रतिशत लुम्बिनी प्रदेशमा छन् ।
कारण
क्षयरोग माइक्रोब्याक्टेरिया ट्युबरक्लोसिस ब्याक्टेरियाको सङ्क्रमणबाट हुन्छ । फोक्सोमा क्षयरोगको कीटाणु भएको मानिस खोक्दा हाछ्युँ गर्दा हावाबाट वा खकारबाट कीटाणु बाहिर निस्कन्छन् र निरोगी मानिसको फोक्सोमा पुग्छ श्वासप्रश्वासद्वारा तर फोक्सोमा कीटाणु पुग्दैमा मानिसलाई क्षयरोग देखिँदैन, जुन कुरा उक्त व्यक्तिको प्रतिरोधात्मक क्षमतामा भर पर्छ । क्षयरोग आनुवंशिक नभएर सङ्क्रामक रोग भएकाले रुघाखोकी जस्तै हावाको माध्यमले सक्रिय क्षयरोगीले खोक्दा, हाछ्युँ गर्दा वातावरणमा पुगेको जीवाणु स्वस्थ व्यक्तिमा स्वास तान्दा पुग्छ ।
लक्षण
क्षयरोग शरीरका कुनै पनि अङ्ग वा प्रणालीमा लाग्न सक्छ । फोक्सोमा लाग्ने रोग विशेषतः खतरनाक हुन्छ, जसलाई थायसिस भनिन्छ ।
फोक्सोबाहेकको अङ्गमा देखिने क्षयरोगलाई एक्स्ट्रापल्मोनरी ट्युबरक्लोसिस भनिन्छ । यसमा खोकी लाग्दैन । पाचन प्रणाली, अस्थिपञ्जर प्रणाली, निष्कासन प्रणाली, प्रजनन् प्रणाली, स्नायु प्रणाली सबैमा क्षयरोग भई तत्सम्बन्धी लक्षण तथा चिह्न देखा पर्छ । रौँ र नङबाहेक शरीरको कुनै पनि अङ्गमा क्षयरोग हुन सक्ने भएकाले सबैको उपचार नेपालमा निःशुल्क छ ।
फोक्सोमा देखिने क्षयरोग नै सबैभन्दा ठुलो समस्या हो । दुई हप्तादेखि लगातार खोकी लाग्नु, खोक्दा छाती दुख्नु, खाना नरुच्नु, साँझपख ज्वरो आउनु, दुब्लाउँदै जानु, शरीरको तौल घट्दै जानु, स्वाँ स्वाँ हुनु, खकारमा रगत देखिनु, राति पसिना आउनु क्षयरोगको शङ्कास्पद लक्षण हुन् । चिरकालीन ब्रोङ्काइटिसको लक्षण, नाडीको गति तीव्र, अनुहार फुस्रो, रजस्वला बन्द जस्ता लक्षण देखिँदा क्षयरोगको शङ्का गर्न सकिन्छ ।
उपरोक्त लक्षण हुँदा पनि रोगीको समयमै र उचित उपचार गरिएन भने रोग बढ्दै गई पछिल्लो अवस्थामा पुग्छ । जसमा फोक्सो ठोस हुने, गड्ने वा फोक्सोमा खाडल पर्ने, ज्वरो घट्ने र बढ्ने हुँदा रगत विशाक्त हुने, खकारमा रगतको मात्रा बढी देखिने, ओठ सुक्ने, गाला दब्ने, आँखा बाहिर निस्कने, सास फुल्ने क्रम बढ्ने, औँला डल्लो पर्ने तथा मुटुको गति कम हुँदै जाने, मुटु आफ्नो स्थानबाट तल झर्ने हुन्छ । रोगी चरम अवस्थामा पुगेपछि प्रायः तीन सप्ताहभित्र नै मृत्यु हुन सक्छ तर कहिलेकाहीँ प्राथमिक लक्षण देखा नपरेर एकैचोटि चरम अवस्थामा पुग्न पनि सक्छ । उपचार नगर्दा ५० प्रतिशतभन्दा बढी क्षयरोगीको मृत्यृ हुन्छ ।
डट्स
क्षयरोगबाट ठुलो जनशक्ति पीडित हुनथालेपछि सरकारी स्तरबाट नियन्त्रणका लागि दीर्घकालीन दृष्टि राखी जनस्वास्थ्य समस्याका रूपमा रहन नदिन औषधी निःशुल्क रूपमा उपलब्ध गराउने, नियमित अनुगमन एवं मूल्याङ्कन गर्ने,कार्यक्रमलाई कुनाकुनामा क्षयरोगीको पहुँचसम्म पु¥याउन नेपालमा सन् १९९६ मा डट्स उपचार पद्धति सुरु भएको हो । भक्तपुर (घनाबस्ती एवं सहरीबस्तीका रूपमा), पर्सा (नेपाल–भारत सिमाना र स्थानान्तरणका रूपमा), नवलपरासी (पहाडी क्षेत्रका रूपमा) र कैलाली (तराई इलाकाका रूपमा) गरी चार नमुना जिल्लाका रूपमा डट्स लागु गरिएको थियो । उक्त नमुना जिल्लामा अध्ययन परीक्षण गर्दा भएको ९० प्रतिशत उपचार सफलताले सन् २००१ सम्ममा देशकै ७५ वटै जिल्ला तब सङ्घीयतापछि ७७ वटै जिल्लामा डट्स लागु भएको हो ।
डट्स विधिमा स्थानीय स्तरमा स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिज्ञ, शिक्षक, स्वास्थ्यकर्मी, सामाजिक कार्यकर्तालगायत समाजका सबै वर्ग र तहका प्रतिष्ठित र क्रियाशील व्यक्तिलाई तालिम दिई डट्स समिति गठन गरेर उनीहरूकै सक्रियतामा बिरामीलाई औषधी खुवाइन्छ । रोगीले औषधी खाए नखाएको दिनदिनै डट्स समितिका व्यक्तिबाट नै सोधपुछ, खोजी तथा प्रत्यक्ष निगरानीमा निःशुल्क रूपमा औषधी खुवाइन्छ । दिनदिनै जानुपर्दा सबैले थाहा पाउँछन् भनी रोग लुकाउन आफैँ किनेर खाने वा औषधी नै नखाने पनि छन् । क्षयरोगको उपचारमा बिरामीले औषधी नियमित नखाँदा, स्वास्थ्यकर्मीको लापरबाही, कम गुणस्तरको औषधीले गर्दा पनि संवेदनशील नहुन सक्छ । साइड इफेक्ट बढी भएको तथा उपचार अवधि लामो हुने जटिल किसिमको उपचार डट्स प्लसबाट उपचार दिइन्छ । डट्स प्लसका औषधीमा पनि ७० प्रतिशत मात्र सफलता छ । पाश्र्व प्रभाव यति कडा हुन्छन् कि बिरामीले सहन गाह्रो पर्छ । पछिल्लो समय जुन प्रकारको र स्तरको औषधी खाँदा पनि निको नहुने प्रकृतिको दुर्लभ टिबी एक्सडिआरटिबी पत्ता लागेको छ, जसका कहीँ बिरामीसमेत देखिएका छन् ।
हो, हामी क्षयरोग अन्त्य गर्छाैं, ‘राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ विश्व क्षयरोग दिवस मार्च २४ मा विश्वभर मनाइयो । औषधी प्रतिरोधी क्षयरोगी चुनौतीका रूपमा रहेको छ । डट्स उपचारमा ९८.३ प्रतिशत निको हुने दर छ भने औषधी प्रतिरोधी क्षयरोगको उपचारमा ७४ प्रतिशत निको हुने दर छ । जति औषधी प्रतिरोधी भयो सफलता त्यति कम रहन्छ । उपचारको दायरामा नआएका बिरामी नै क्षयरोग अन्यमा सार्न र अन्त्यका लागि चुनौती बनेका छन् । डट्स तथा डट्स प्लसले काम नगरेका बिरामी निरन्तर बढ्नाले अब टिबीलाई सजिलै निको हुने रोग भन्न मिल्दैन । क्षयरोग अन्त्यका लागि डट्स रणनीति, स्टप टिबी रणनीति हुँदै अहिले इन्डटिबी रणनीति सञ्चालनमा छ । सन् २०३५ मा महामारी अन्त्य गर्न र सन् २०५० मा क्षयरोग मुक्त नेपाल बनाउन सरकारी प्रयासले मात्र सम्भव नभएकाले सरोकारवाला सबैको होस्टेमा हैँसै जरुरी छ ।