• १६ भदौ २०८१, आइतबार

उल्लासमय चाड तिहार

blog

काठमाडौँ, कात्तिक ३ गते । चारैतिर शरद ऋतुको उल्लासमय वातावरण । खेतबारी र पाखापखेरामा ढकमक्कै फुलेका सयपत्री र बैजनी रङका मखमली फूलले प्रकृतिलाई दुलहीझैँ सिँगारिदिएको छ । प्रकृतिसँग रम्दै मनाइने तिहारको मौलिकता भने हराउँदै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

अहिलेको युवा पुस्ता आयातित संस्कृतिको प्रभावमा पर्दै गएपछि सांस्कृतिक मौलिक चाडपर्वले आफ्नो मौलिकता गुमाउँदै गएको संस्कृतिविद्को भनाइ छ ।

तिहार प्रकृति, पुरुष र ऐश्वर्य (लक्ष्मी)लाई खुसी बनाउने रोमाञ्चक चाड हो । पछिल्लो समय यो चाडमा पनि निकै विकृति भित्रिएकाले यसको सांस्कृतिक पहिचान ओझेलमा पर्दै जान थालेको छ । 

केही वर्षअघिसम्म माटाको पालामा दीपावली गर्ने भक्तपुर अहिले विभिन्न किसिमका विद्युतीय बत्तीले झिलिमिली देखिन्छ। भक्तपुरवासीले पनि थोरै मात्र माटोको पाला प्रयोग गर्ने गरेका छन् । “बढ्दो आधुनिकता र प्रविधिका कारण विद्युतीय सामग्रीले बजार लियो,” सूर्यविनायक नगरपालिकाकी रजनी जोशीले भन्नुभयो, “प्राकृतिक र वातावरण सुहाउँदो सामग्रीले भन्दा रङ्गीचङ्गी र झिलिमिलीले मान्छेलाई तान्यो। माटोको भाँडोले स्वास्थ्यलाई असर गर्दैन, त्यो अहिलेका मान्छेले बुझेका छैनन् ।”

देखावटीपन र आधुनिकताले तिहारको मौलिकता लोप भएको संस्कृतिकर्मीहरू बताउँछन् । “हाम्रो तिहार परनिर्भरतामा आधारित भयो, भारतलगायत सात समुद्रपारिका मुलुकबाट सामान नआए तिहार मनाउनै नपाउने वातावरण बनिसक्यो,” साहित्यकार एवं संस्कृतिकर्मी तेजेश्वरबाबु ग्वंगःले भन्नुभयो, “मौलिकताबाट हटेर देखासिकीमा परिणत भयो।” पहिले तिहारका अवसरमा आफैँले उत्पादन गरेका फलफूल, मखमली÷सयपत्री फूलको उपहार आदानप्रदान हुने गरे पनि अहिले विद्युतीय बत्ती, रङ्गीन मिठाई भित्रिएसँगै देखावटी गर्ने शैलीका कारण मौलिकता हराउँदै गएको उहाँले बताउनुभयो । 

यमराजको बाटो छेक्न विशाल नदीको प्रतीकका रूपमा घरको मूल ढोकामा हालिने तेलको धाराले प्रतीकात्मक अर्थ दिन्थ्यो । दाजुभाइलाई यमराजबाट सुरक्षित राख्न दिदीबहिनीले मूल ढोकामा तेलको धारा हालेर बाटो छेक्ने प्रचलन पनि पछिल्लो समय हराउँदै गएको छ । 

सूचना र प्रविधिले विश्वलाई नै साँघुरो बनाइदिए पनि अपनत्व र सौहार्दतालाई भने निकै टाढा पु¥याइदिएको छ । अहिले मोबाइल र इन्टरनेटको बढ्दो प्रभाव र प्रयोगका कारण मानिस व्यस्त भएका छन् । 

युवापुस्ताका दिदीबहिनी पनि सूचना प्रविधिको यो प्रभावबाट मुक्त हुने कुरै भएन । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रभावका कारण दिदीबहिनी पनि बेफुर्सदिला हुने गरेका र झन्झटिला कामप्रति रुचि घट्दै गएको संस्कृतिविद् ओम धौभडेलले बताउनुभयो । 

उहाँका अनुसार दिदीबहिनीको बेफुर्सदिलो समयको आंशिक प्रभाव तिहारको मौलिकतामा पनि परेको छ । फूल खोज्ने, माला गाँस्ने, भाइमसला बनाउने, विभिन्न परिकार तयार गर्ने र समग्रमा तिहारको रौनक बढाउने प्रमुख भूमिका दिदीबहिनीकै हुने गर्छ । तर दिदीबहिनी बेफुर्सदिला बनिदिँदा तिहारको मौलिकतामा पनि असर गरेको छ ।

ग्वंगःका अनुसार अहिले नयाँ धानको चामल पिसेर बनाइएको सेल, मुटुमारी (एक किसिमको रोटी) बनाई दाजुभाइलाई कोसेली लाने संस्कार पनि हराउँदै गएको छ। विभिन्न रङ मिसिएका मिठाईले गर्दा घरघरमा सेलरोटी पाक्ने क्रम पनि घटेको छ । त्यसैगरी माटोको पालामा तेल राखेर बत्ती बाली लक्ष्मीपूजा गर्ने समाज विद्युतीय बत्तीमा हराएको उहाँले बताउनुभयो ।